होर्मुज स्ट्रेटको नाम ‘ट्रम्प स्ट्रेट’ राख्ने ट्रम्पको प्रस्ताव

लोकपथ
42
Shares

काठमाडौं । इरानसँग तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटको नाम परिवर्तन गर्न सुझाव दिएका छन् ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेख्दै होर्मुज स्ट्रेटलाई ‘ट्रम्प स्ट्रेट’ नाम राख्न सकिने बताएका हुन् । उनले यो क्षेत्र अहिले अमेरिकाको नियन्त्रणमा रहेको दाबीसमेत गरेका छन् ।

यसैबीच, होर्मुज स्ट्रेटमा साउदी तेल ट्यांकरमाथि भएको आक्रमणमा फिलिपिन्सका दुई नाविकको मृत्यु भएको साउदी शिपिङ कम्पनीले जनाएको छ । ग्रीक समुद्री जोखिम व्यवस्थापन कम्पनी मारिसाक्सका अनुसार मंगलबार बिहान अज्ञात विमानले दुई तेल ट्यांकरलाई निशाना बनाएको थियो ।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले इरानबाट टाढा रहन सबैलाई आग्रह गरेका छन् । उनले इरानी शासनलाई कुनै पनि प्रकारको समर्थन नगर्नु नै संघर्ष अन्त्य गर्ने सबैभन्दा छिटो उपाय भएको बताएका छन् ।

उता, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकाले इरानको ‘नयाँ रणनीति’ सामना गर्नुपर्ने चेतावनी दिएका छन् । उनले युद्ध, कूटनीति र आर्थिक नाकाबन्दीका क्षेत्रमा इरानको रणनीतिले अमेरिकालाई ठूलो क्षति पुर्‍याउने दाबी गरेका छन् ।

मंगलबार राति अमेरिकी सेनाले इरानका पश्चिम, दक्षिणपश्चिम र दक्षिणी क्षेत्र तथा तटीय क्षेत्रमा आक्रमण गरेको बताइएको छ । अमेरिकी आक्रमण होर्मुज स्ट्रेटको पूर्वी क्षेत्रसम्म पुगेको इरानी अधिकारीहरूले बताएका छन् ।

इरानी अधिकारीका अनुसार होर्मुजको कोहस्ताक सहरमा भएको आक्रमणमा विवाह समारोहमा सहभागी चार जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले उक्त आक्रमणलाई ‘युद्ध अपराध’ भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?