सिटिजन्स बैंकको कोशीमा व्यावसायिक विस्तार रणनीति : ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम’ कार्यक्रम सम्पन्न

लोकपथ
21
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा व्यवसाय विस्तार र बैंकको सेवा सुधार गर्ने विषयमा छलफल गरेको छ ।

बैंकले ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ नामक कार्यक्रम आयोजना गर्दै व्यवसाय विस्तार र सम्पत्तिको गुणस्तर सुधारमा जोड दिएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित प्रदेश प्रमुख, शाखा प्रबन्धक र वरिष्ठ अधिकारीहरूको सहभागिता थियो ।

कार्यक्रममा गत आर्थिक वर्षको कामको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, योजना र प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ । साथै, केन्द्रीय कार्यालय र प्रदेशका शाखाबीच समन्वय र सहकार्य थप बलियो बनाउने विषयमा पनि छलफल भएको थियो ।

कोशी प्रदेशका १० जिल्लामा सिटिजन्स बैंकका २८ वटा शाखा सञ्चालनमा छन् । बैंकले बागमती प्रदेशपछि कोशीमा पनि यस्तो कार्यक्रम आयोजना गरेको हो । अन्य प्रदेशमा पनि क्रमशः यस्ता कार्यक्रम आयोजना गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

सो अवधिमा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

बैंकले पछिल्लो समय विभिन्न डिजिटल तथा नयाँ बैंकिङ सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ । फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै, युवालाई लक्षित गरी ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ सञ्चालनमा ल्याइएको छ । फ्रिलान्सरका लागि ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ पनि सुरु गरिएको बैंकले जनाएको छ ।

बैंकका ग्राहकले मोबाइल बैंकिङबाटै सेयर आवेदन दिन र सीआरएन नम्बरसम्बन्धी सेवा लिन सक्ने सुविधा पनि पाएका छन् । अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखामा टेलर क्यूआर स्क्यान गरेर नगद झिक्न सक्ने ‘क्रस बैंक टेलर’ सुविधा सञ्चालनमा ल्याइएको छ ।

सिटिजन्स बैंकले हाल ६१ जिल्लामा २ सय शाखा, १६९ एटीएम, ३ वटा विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ६२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?