काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद्पछि सरकारले राहत तथा उद्धार व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाएका छन् ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले सामाजिक सञ्जालमा सरकारको सक्रियता देखिए पनि प्रभावित क्षेत्रमा त्यस्तो अवस्था नरहेको बताएका हुन् ।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत सामग्री एक ठाउँमा थुप्रिएको भए पनि वास्तविक पीडितले राहत पाउन सकेका छैनन् । राहत वितरणका लागि सरकारले स्थानीय तहसँग पर्याप्त समन्वय गर्न नसकेको उनको आरोप छ ।
स्थानीय तहसँग प्रभावित नागरिकको वास्तविक अवस्था, तथ्यांक र आवश्यकताबारे जानकारी हुने भएकाले उनीहरूसँग प्रभावकारी समन्वय गरेर राहत वितरण गर्नुपर्ने राईले बताए ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको उल्लेख गर्दै राईले सामाजिक सञ्जालमा देखिएको अवस्था र स्थलगत वास्तविकताबीच फरक रहेको दाबी गरे ।
उनले विपद् व्यवस्थापनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए । प्रभावित क्षेत्रको यकिन तथ्यांक तत्काल संकलन गर्नुपर्ने उनको भनाइ छ ।
राईले विपद् आउनुअघिको कुल जनसंख्या, हाल सम्पर्कमा रहेका नागरिक, सुरक्षित स्थानमा पुगेका व्यक्ति, बेपत्ता, मृतक तथा अज्ञात अवस्थामा रहेका व्यक्तिको तथ्यांक यकिन गर्न सरकारलाई सुझाव दिए । यस्तो तथ्यांक स्थानीय तह, सुरक्षा निकाय तथा नागरिक प्रतिनिधिसँग उपलब्ध हुने भएकाले सबै निकायलाई सक्रिय बनाएर संयुक्त रूपमा व्यवस्थापन अघि बढाउनुपर्ने उनले बताए ।
सचेतक राईले शव व्यवस्थापनलाई समेत सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए । विपद्का कारण मृत्यु भएकाहरूको शव सुरक्षित राख्ने तथा व्यवस्थापन गर्ने क्रममा आवश्यक उपकरण र पूर्वाधारको अभाव भए विज्ञसँग परामर्श गरेर उपयुक्त विधि अपनाउन उनले आग्रह गरे ।
बैठकले विपद्को समयमा सबै पक्ष एकजुट भएर सरकारलाई सहयोग गर्ने निर्णय गरेको राईले जानकारी दिए ।
यसैगरी, कांग्रेसले आफ्ना सांसदहरूलाई अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा गएर भीडभाड नगर्न निर्देशन दिएको छ । राईले केही सांसद फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नकै लागि प्रभावित क्षेत्रमा जाने गरेको भन्दै आवश्यक पर्दा मात्रै फिल्डमा जान आग्रह गरिएको बताए ।
कांग्रेसले बाढीपीडितको उद्धार तथा राहतका लागि आवश्यक टोलीसमेत परिचालन गरेको राईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया