काठमाडौं । रसुवास्थित अपर त्रिशूली–३ बी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा आएको भीषण बाढीपछि ४३ जना सम्पर्कविहीन भएका छन् ।
भदौ १० गते आएको बाढीले क्याम्प क्षेत्रका घरहरू बगाउनुको सट्टा ठूलो मात्रामा लेदो र माटोले पुरेको प्रत्यक्षदर्शी कर्मचारीले बताएका छन् । त्यसै लेदोभित्र आयोजनाका कर्मचारी, उनीहरूका परिवार, परामर्शदाता कम्पनीका कर्मचारी र इन्टर्न विद्यार्थीहरू पुरिएको आशंका गरिएको छ ।
बाढीबाट भागेर ज्यान बचाएका कर्मचारीका अनुसार क्याम्पमा रहेका घरभित्र आयोजनाका उच्च पदस्थ कर्मचारी, परामर्शदाता, इन्टर्न विद्यार्थी, परिवारका सदस्य र साना बालबालिका समेत रहेका थिए ।
सम्पर्कविहीन ४३ जनाको तत्काल खोजी तथा उद्धार गर्न आधुनिक उपकरण प्रयोग गरी लेदो हटाउने र उत्खनन गर्ने काम सुरु गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । लेदोमा पुरिएका व्यक्तिहरूलाई जीवितै उद्धार गर्ने सम्भावना रहेकाले ढिला नगरी खोजी सुरु गर्न आग्रह गरिएको छ ।
सम्पर्कविहीन ४३ जनामा आयोजनाका कर्मचारी तथा सुरक्षाकर्मी २२ जना, कर्मचारीका परिवारका ७ जना, चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीका ११ जना र काठमाडौँ विश्वविद्यालयका ३ जना इन्टर्न विद्यार्थी रहेका छन् ।
उनीहरूमा आयोजना प्रमुख इन्दिबर घिमिरे, उपप्रबन्धक प्रकाशनिधि तिवारी, इन्जिनियरहरू सोमनाथ पौडेल, प्रमिला पाठक र दिपेश श्रेष्ठलगायत छन् । परिवारका सदस्यमा २ देखि साढे ३ वर्षसम्मका बालबालिका समेत रहेका छन्।
त्यस्तै, चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेजका वरिष्ठ टोली नेता, इन्जिनियर, भूगर्भविद्, चालक तथा भान्से टोलीका सदस्यहरू पनि सम्पर्कविहीन छन् । काठमाडौँ विश्वविद्यालयबाट इन्टर्नसिपका लागि आयोजनामा पुगेका सृष्टि बास्तोला, समीर पौडेल र शिशिर गिरी पनि सम्पर्कविहीन रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया