काठमाडौं । रसुवाको टिमुरेमा भदौ १० गते आएको विनाशकारी बाढीपहिरोपछि बेपत्ता भएका आफ्ना आफन्तको खोजीका लागि परिवारजनले सरकारसँग थप सक्रिय खोजी तथा उद्धारको माग गरेका छन् ।
बाढीले टिमुरे बजारमा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयको भवनसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । उक्त भवनमा कार्यालयका कर्मचारी तथा घरबेटीका परिवारका सदस्यहरू बस्दै आएका थिए ।
बाढीपहिरोमा प्लान्ट क्वारेन्टाइन कार्यालयमा कार्यरत जागेश्वर शर्मा, युवा खरिदार आयुष खड्का र कार्यालय सहयोगी शिवप्रसाद ढकाल बेपत्ता छन् । उनीहरू लामो समयदेखि टिमुरेमा रहेर सेवा गर्दै आएका थिए ।
अछामका जागेश्वर शर्मा तीन वर्षदेखि हिमाली दुर्गम क्षेत्रमा कार्यरत थिए । आयुष खड्का भने लोकसेवा परीक्षा उत्तीर्ण गरेपछि पहिलो पोस्टिङका रूपमा टिमुरे पुगेका थिए । रसुवाका स्थानीय शिवप्रसाद ढकाल पनि लामो समयदेखि कार्यालयमा सहयोगीका रूपमा कार्यरत थिए ।
उनीहरू एउटै भान्सामा खाना खाने र एउटै कार्यालयमा दैनिकी बिताउने सहकर्मी थिए । तर भदौ १० गते बिहान भोटेकोशीमा आएको भीषण बाढी र पहिरोले उनीहरूलाई सम्पर्कविहीन बनाएको परिवारजनले बताएका छन् ।
जागेश्वर शर्माको मोबाइलमा घटनापछि केही समयसम्म घण्टी गइरहेको र अन्तिम लोकेसन कार्यालयभन्दा करिब १।१ किलोमिटर माथि जंगल क्षेत्रमा देखिएको परिवारको भनाइ छ । उनकी आफन्त सानु उपाध्यायले मोबाइलको लोकेसनका आधारमा उनी अझै कतै जीवित अवस्थामा उद्धारको पर्खाइमा हुनसक्ने आशा व्यक्त गरेकी छन् ।
‘दिउँसो २ बजेर १५ मिनेटसम्म फोनमा घण्टी गइरहेको थियो । लोकेसन पनि कार्यालयभन्दा माथि जंगलतिर देखिएको छ,’ उनले भनिन्, ‘बाक्लो जंगल र अप्ठ्यारो भूगोलमा हेलिकप्टरबाट मात्र खोजेर उहाँहरूलाई भेट्न कठिन हुन्छ । स्थलगत खोजी आवश्यक छ ।’
त्यस्तै, शिवप्रसाद ढकालकी १८ वर्षीया छोरी सुजिता पनि चार दिनदेखि बाबुको खोजीमा काठमाडौंका अस्पताल चहारिरहेकी छन् । उनका अनुसार घटनाको दिन बिहानसम्म आमासँग फोनमा कुरा भइरहे पनि त्यसपछि सम्पर्क टुटेको थियो ।
उता, रसुवागढीमा कार्यरत नेपाली सेनाका जवान तपेन्द्रजंग कुँवर पनि बाढी आएदेखि बेपत्ता छन् । कैलालीको घोडाघोडीबाट सीमाना सुरक्षाका लागि रसुवागढी पुगेका कुँवर घटनाको अघिल्लो साँझसम्म परिवारको सम्पर्कमा थिए ।
उनकी दिदी मञ्जु पौडेलले वीर अस्पताल, छाउनीस्थित सैनिक अस्पताल, शिक्षण अस्पताललगायतका ठाउँमा भाइको खोजी गरिरहेकी छन् । चार दिनसम्म पनि कुनै जानकारी नआएपछि उनले राज्यसँग तत्काल प्रभावकारी खोजी गर्न आग्रह गरेकी छन् ।
‘हामीलाई कि आश चाहियो, कि लाश चाहियो,’ उनले भनिन्, ‘कम्तीमा मेरो भाइ कहाँ छ भन्ने सत्यसम्म राज्यले पुर्याइदिनुपर्छ ।’
यता, टिमुरेमा रहेका सहकर्मीहरू बाढीमा बेपत्ता भएपछि नविन शर्मा पनि पीडामा छन् । उनी घटनाको केही दिनअघि कार्यालयको कामले धुन्चे झरेका कारण बाढीबाट जोगिएका थिए । तर एउटै भान्सामा खाना खाने र लामो समयदेखि सँगै काम गरेका सहकर्मीहरू बेपत्ता भएपछि आफूलाई बाँच्नु पनि पीडादायी बनेको उनले बताए ।
‘म धुन्चेमा भएकाले बाँचेँ, तर मेरा साथीहरू हराए । यो बाँच्नु सौभाग्य हो कि दुर्भाग्य भन्ने लाग्छ,’ शर्माले भने ।
भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी र पहिरोले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ । सडक, सञ्चार तथा विद्युत् संरचनामा समेत व्यापक क्षति पुगेपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ ।
बेपत्ता परिवारका सदस्यहरूले हेलिकप्टरबाट मात्र नभई सेना, प्रहरी तथा सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरी जोखिमपूर्ण जंगल, भीर तथा खोँचमा स्थलगत खोजी गर्न माग गरेका छन् ।
उनीहरूको भनाइमा अन्तिम मोबाइल लोकेसन र सम्पर्कको सम्भावना देखिएका स्थानमा विस्तृत खोजी गर्न सके अझै केही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिने आशा छ । त्यसैले खोजी कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन उनीहरूले सरकारसँग आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया