काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हिमालयन पारिस्थितिक प्रणालीमा आएको परिवर्तनले नेपालसहित यस क्षेत्रका मुलुकमा गम्भीर जोखिम निम्त्याएको भन्दै यसको संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।
शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले जलवायु परिवर्तनका चुनौती सामना गर्न विश्वव्यापी प्रयास आवश्यक रहेको बताए । नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.०१ प्रतिशत मात्रै योगदान गरे पनि जलवायु परिवर्तनको प्रत्यक्ष र गम्भीर असर भोगिरहेको उनको भनाइ छ ।
सरकारले हिमालय क्षेत्रको बदलिँदो स्वरूप तथा त्यसले नेपाल, चीनसहित तल्लो तटीय क्षेत्रमा पार्न सक्ने प्रभावबारे स्वतन्त्र अनुसन्धान अघि बढाउने तयारी गरिरहेको उनले जानकारी दिए ।
विपद् व्यवस्थापन तथा पूर्वसूचना प्रणालीका विषयमा चीन सरकारसँग समन्वय गरी संयन्त्र निर्माणको प्रक्रिया अघि बढिरहेको अवस्थामा पछिल्लो प्राकृतिक विपद् आएको मन्त्री खनालले बताए । चीनतर्फ पनि विपद्बाट ठूलो क्षति भएको र दुवै देशका अधिकारीबीच नियमित रूपमा सूचना आदानप्रदान भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार उद्धारमा सुरक्षाकर्मीले चुनौतीपूर्ण अवस्थामा काम गरिरहेका छन् । बाढी प्रभावित कतिपय क्षेत्र दलदले जमिनमा परिणत भएकाले उद्धारका उपकरण लैजान र हेलिकप्टर अवतरण गराउन समेत कठिनाइ भइरहेको छ ।
मन्त्री खनालले विपद्मा परेका विदेशी नागरिकको उद्धारबारे पनि जानकारी दिए । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार हालसम्म १८७ जना विदेशी नागरिकको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ११४ जना भारतीय, २७ जना चिनियाँ र २० जना कोरियाली नागरिक रहेका छन् ।
अझै ४२० जना विदेशी नागरिक सम्पर्कविहीन रहेको र उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उनले बताए । सम्पर्कविहीनमध्ये जापानी नागरिकसमेत रहेको भन्दै सरकारले उनीहरूको खोजीमा सक्रियता बढाएको मन्त्री खनालले जानकारी दिए ।
नुवाकोट र रसुवाको भौगोलिक विकटताका कारण उद्धारमा कठिनाइ भइरहेको उनले बताए । रसुवा सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको र साँघुरा खोंचका कारण ठूला हेलिकप्टर उडाउनसमेत समस्या भइरहेको उनको भनाइ छ ।
मन्त्री खनालका अनुसार नेपालले विशेषगरी सुरुङ उद्धारका लागि भारत र चीनसँग सहयोग मागेको छ । भारतीय टोली नेपाल आइसकेको र चिनियाँ टोली पनि सीमा पार गरेर नेपाल आउने क्रममा रहेको उनले जानकारी दिए ।
यसैगरी, फेला परेका शवको संरक्षणका लागि नेपालसँग पर्याप्त क्षमता नभएकाले शव गृहका लागि आवश्यक फ्रिजर उपलब्ध गराउन अन्तर्राष्ट्रिय निकायसँग आग्रह गरिएको उनले बताए । आवश्यकताका आधारमा मात्रै विदेशी विशेषज्ञ टोलीलाई नेपाल बोलाइएको पनि मन्त्री खनालले स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया