काठमाडौं । युरोपेली सङ्घ (ईयू) ले नेपालमा आएको अकस्मात् बाढीबाट प्रभावित समुदायका लागि २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ ।
ईयूले शनिबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावितलाई खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाइ तथा आश्रयलगायत तत्काल आवश्यक सहयोगका लागि उक्त रकम उपलब्ध गराउने जनाएको हो ।
ईयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले प्रभावित क्षेत्रमा राहत तथा सहयोग सुरु गरिसकेका छन् । बाढीपछि ती संस्थाले यसअघि विपद् पूर्वतयारीका लागि राखिएका आश्रय तथा राहत सामग्रीसमेत वितरण गर्न थालेका छन् ।
ईयूका अनुसार उक्त २० लाख युरो यस वर्षको सुरुआतमा नेपालमा विपद् पूर्वतयारीका लागि छुट्याइएको करिब ३० लाख युरो मानवीय सहयोगभन्दा अतिरिक्त हो ।
बाढीपछिको प्रतिकार्य समन्वय गर्न ईयूले एसियाका लागि ‘र्यापिड रेस्पोन्स कोअर्डिनेटर’ समेत परिचालन गर्ने जनाएको छ । प्रभावित क्षेत्रमा स्थानीय प्रतिकार्यमा सहयोग पुर्याउन ईयूले ‘कोपरनिकस’ भू–उपग्रह सेवा सक्रिय गरी प्रभावित क्षेत्रको नक्सा उपलब्ध गराउने भएको छ ।
ईयू कमिस्नर फर प्रिपेयर्डनेस एन्ड क्राइसिस म्यानेजमेन्ट हाड्जा लाहबिबले बाढीका कारण सडक बगेको, गाउँहरू सम्पर्कविहीन भएको र परिवारहरू आफ्ना सम्पर्कविहीन आफन्तको खोजीमा रहेको बताएका छन् ।
उनले बाढीका कारण यसअघि नै विभिन्न विपद्बाट प्रभावित तथा पुनर्निर्माणमा रहेका समुदाय थप प्रभावित भएको उल्लेख गर्दै ईयू प्रभावित समुदायको साथमा रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया