प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह : ‘मित्र राष्ट्रको सहयोग तत्काल लिनुस्’

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्राकृतिक विपत्तिको सामना गर्न सरकारलाई आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग र सद्भाव रहने प्रतिबद्धता जनाएका छन् ।

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँग भेट गर्दै आङ्देम्बेले बाढीपहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति र तत्काल गर्नुपर्ने कामबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

भेटका क्रममा उनले प्रभावित क्षेत्रमा स्थलगत अवलोकनका क्रममा देखिएका समस्या प्रधानमन्त्रीसमक्ष राखे । आयुर्वेदिक अस्पतालमा राखिएका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था कमजोर रहेको तथा अस्पतालमा शय्या, औषधि र जनशक्तिको अभाव रहेको उनले जानकारी गराए ।

विपद्को समयमा सरकारी संयन्त्रले मात्र सबै काम गर्न कठिन हुने भन्दै आङ्देम्बेले निजी क्षेत्र तथा इच्छुक मित्रराष्ट्रलाई तत्काल उद्धार र राहत कार्यमा सहभागी गराउन सरकारसँग आग्रह गरे । जवाफमा प्रधानमन्त्रीले निजी क्षेत्र र वैदेशिक सहयोगका लागि सरकारले अनुमति दिइसकेको जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले चीनबाट आउन लागेको सहयोग टोली प्रतिकूल मौसमका कारण रोकिएको र अन्य मुलुकबाट पनि सहयोग आउने क्रम जारी रहेको बताएका थिए ।

आङ्देम्बेले नुवाकोटलगायतका प्रभावित क्षेत्रमा बाढीपहिरोपछि फैलिएको दुर्गन्धका कारण महामारीको जोखिम बढेको भन्दै तत्काल आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरे । उनले प्रभावित भूगोल र नागरिकलाई सुरक्षित राख्न स्वास्थ्य तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए ।

यस्तै, सडक तथा पुल भत्किएर आवतजावत ठप्प भएका नुवाकोटका विभिन्न क्षेत्रमा थप हेलिकोप्टर परिचालन गर्न उनले माग गरे । परिवारका सदस्यहरू विभिन्न स्थानमा अलपत्र परेकाले उनीहरूको मानसिक अवस्थालाई समेत ध्यान दिँदै उद्धार तथा पहुँचलाई सहज बनाउनुपर्ने उनको भनाइ छ ।

यसैबीच, नेपाली कांग्रेसले संस्थागत रूपमा राहत कोष स्थापना गरी हेल्पलाइनमार्फत सहयोग सुरु गरिसकेको आङ्देम्बेले जानकारी दिए । उनका अनुसार आगामी सोमबार पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा कांग्रेसको टोली प्रभावित क्षेत्रको भ्रमणमा जाने कार्यक्रम छ ।

विपद्को समयमा प्रतिपक्षको भूमिका सहयोगी रहने स्पष्ट पार्दै आङ्देम्बेले सरकारलाई दृढताका साथ अघि बढ्न र नागरिकलाई छिटोभन्दा छिटो सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?