काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ४ सय ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी ९ सय ७७ जना अझै बेपत्ता छन् ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ३ हजार २५३ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ५ सय जनालाई बिहीबार जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएको थियो ।
सुरुङभित्र अझै केही व्यक्ति फसेको र उनीहरूको उद्धारका लागि प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।
उद्धार कार्यलाई तीव्रता दिन शुक्रबार बिहानै तीनवटा हेलिकप्टर परिचालन गरिएको छ । सडक सञ्जाल अवरुद्ध भएका क्षेत्रमा खाद्यान्न पुर्याउन एक टनसम्म सामान बोक्न सक्ने ‘लिफ्टिङ ड्रोन’ समेत प्रयोग भइरहेको छ ।
नेपाली सेना र नेपाल प्रहरीका टोलीलाई उद्धार, शव व्यवस्थापन तथा आवश्यकताको पहिचानका लागि विभिन्न स्थानमा परिचालन गरिएको छ । हेलिकप्टरका लागि नुवाकोट स्टेशनबाट इन्धन आपूर्तिको व्यवस्था मिलाइएको छ ।
प्राधिकरणका अनुसार हालसम्म फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा १ सय ७८ र नवलपरासी पूर्वमा १ सय १० वटा छन् । त्यस्तै, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ वटा शव फेला परेका छन् ।
कतिपय स्थानमा मानव अङ्ग मात्रै फेला परेकाले शवको पहिचानमा कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ ।
बेपत्ता हुनेमा सुरक्षाकर्मी र सरकारी कर्मचारीको संख्या पनि ठूलो छ । नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन छन् । त्यस्तै, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना कर्मचारी पनि बेपत्ता छन् ।
सर्वसाधारणतर्फ रसुवाका १६१ जना र नुवाकोटका एक जना बेपत्ता रहेको विवरण प्राप्त भएको छ । बाढीमा परी घाइते भएका ७३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बेत्रावती क्षेत्रमा रहेका १७ जना घाइतेलाई तत्काल अक्सिजन आवश्यक परेकाले त्यसको व्यवस्थापन भइरहेको प्राधिकरणले जनाएको छ ।
उत्तरगया, डाँडागाउँ र किस्पाङ गाउँपालिकाको सीमा क्षेत्रमा करिब १ सय जना तथा लिरिङ्गे स्कुलमा १ सय ५० जना सुरक्षित अवस्थामा रहेका छन् । उनीहरूलाई त्रिशूली नदी पार गराएर सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ ।
त्यस्तै, २ सय १६ मेगावाट क्षमताको त्रिशूली हाइड्रोपावरमा रहेका व्यक्तिहरूका लागि खाद्यान्नको व्यवस्था गरिएको छ । नदी किनारमा भेटिएका शवहरूको व्यवस्थापन पनि भइरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार विपद् व्यवस्थापन तथा उद्धारका लागि राज्यका सबै संयन्त्र २४ सै घण्टा परिचालन भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया