गिनीमा ल्यान्डफिल पहिरो : कम्तीमा ३० जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो ल्यान्डफिलमा पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । घटनामा छ जना गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान भारी वर्षापछि दार एस सलामस्थित ल्यान्डफिलमा थुपारिएको फोहोरको ठूलो भाग भत्किँदा आसपासका झुपडी तथा घरहरू पुरिएका थिए । बिहान करिब २ बजे सुरु भएको भारी वर्षाका कारण फोहोर बगेर बस्तीमा पुगेको अधिकारीहरूले बताएका छन् ।

पहिरोपछि घटनास्थलमा जीवितको खोजी तथा उद्धार कार्य जारी छ । धेरै घरमा क्षति पुगेको र अझै केही मानिस फोहोरमुनि फसेको हुन सक्ने आशंकामा उद्धार टोली परिचालन गरिएको छ ।

सैन्य इन्जिनियरिङ बटालियनका सरसफाइ अधिकारी लेफ्टिनेन्ट कर्नल बाल्डे मामाडोउ बैलोका अनुसार उक्त ल्यान्डफिल आइतबारदेखि बन्द गर्ने तयारी गरिएको थियो । ल्यान्डफिल आसपासका बासिन्दालाई यसअघि नै सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचना दिइएको थियो । तर, त्यसअघि नै पहिरो जाँदा ठूलो जनधनको क्षति भएको हो ।

क्षेत्रीय प्रशासन तथा विकेन्द्रीकरण मन्त्री डिएनाबोउ टुरेले घटनास्थलको निरीक्षण गर्दै बाँकी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताएका छन् ।

गिनी खनिज स्रोतमा धनी मुलुक भए पनि गरिबीको समस्या उच्च छ । विश्व बैंकका अनुसार गिनीको ४३ दशमलव ७ प्रतिशत जनसङ्ख्या राष्ट्रिय गरिबीको रेखामुनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?