काठमाडौं । गत आर्थिक वर्ष २०८२–८३ मा नेपालमा विद्यमान रहेका फाइनान्स कम्पनीहरूको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ ।
सञ्चालनमा रहेका १४ फाइनान्स कम्पनीले वर्षको अन्त्यसम्म कुल १ अर्ब ६४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरूको संयुक्त नाफा ६७ करोड ४ लाख रुपैयाँ रहेको थियो ।
यस आधारमा एक वर्षमै फाइनान्स कम्पनीहरूको समग्र खुद नाफा १४४.६६ प्रतिशतले बढेको देखिन्छ । ब्याज आम्दानीमा भएको वृद्धि, इम्पेयरमेन्ट चार्जमा आएको कमी तथा अघिल्लो वर्ष घाटामा रहेका केही कम्पनी नाफामा फर्किनुले नाफा बढाउन मुख्य योगदान गरेको देखिन्छ ।
मन्जुश्री सबैभन्दा अगाडि
गत आवमा नेपाल फाइनान्सबाहेक सबै फाइनान्स कम्पनी नाफामा रहेका छन् ।
कम्पनीगत रूपमा हेर्दा मन्जुश्री फाइनान्सले सबैभन्दा धेरै ३७ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा २०.३६ प्रतिशतले बढेको हो ।
यसको विपरीत नेपाल फाइनान्स भने घाटामा गएको छ। कम्पनीले समीक्षा अवधिमा ६ करोड ९६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनी ३८ लाख रुपैयाँ नाफामा थियो । रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । बाँकी कम्पनीहरूले भने नाफा वृद्धि गरेका छन् ।
नाफाको अवस्था कसको कस्तो छ ?

खराब कर्जामा मिश्रित अवस्था
नाफामा उल्लेख्य सुधार देखिए पनि फाइनान्स कम्पनीहरूको कर्जा गुणस्तरमा भने मिश्रित अवस्था देखिएको छ । गत आर्थिक वर्ष ९ वटा कम्पनीले खराब कर्जा अर्थात् निष्क्रिय कर्जा अनुपात (एनपीएल) घटाएका छन् । तर, ५ कम्पनीको एनपीएल भने बढेको छ ।
कुल १४ कम्पनीमध्ये ८ वटा फाइनान्स कम्पनीको एनपीएल अझै ५ प्रतिशतभन्दा माथि छ । एनपीएल ५ प्रतिशतभन्दा कम रहनुलाई तुलनात्मक रूपमा राम्रो अवस्था मानिन्छ । यसको विपरीत उच्च एनपीएलले कम्पनीको कर्जा असुली तथा जोखिम व्यवस्थापनमा चुनौती रहेको संकेत गर्छ ।
जानकी फाइनान्सको एनपीएल सबैभन्दा उच्च ६१.५५ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यसको खराब कर्जा अनुपात १२।९४ प्रतिशत अंकले बढेको हो ।
उता आईसीएफसी फाइनान्सले सबैभन्दा कम एनपीएल कायम गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा खराब कर्जा अनुपात ०.२९ प्रतिशत अंकले घटाएर १.५५ प्रतिशतमा सीमित गरेको छ।
नाफा बढे पनि जोखिम व्यवस्थापनमा ध्यान आवश्यक
फाइनान्स कम्पनीहरूको समग्र नाफामा आएको तीव्र वृद्धिले वित्तीय अवस्थामा सुधारको संकेत गरेको छ । विशेषगरी आम्दानी वृद्धि र इम्पेयरमेन्ट खर्चमा कमी आउनुले कम्पनीहरूको नाफा बढाउन सहयोग गरेको देखिन्छ ।
तर, केही कम्पनीको उच्च एनपीएलले कर्जा जोखिम अझै ठूलो चुनौतीका रूपमा रहेको देखाउँछ। फाइनान्स कम्पनीहरू ‘ग’ वर्गका वित्तीय संस्था भएकाले तिनको कर्जा गुणस्तर, जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वले समग्र वित्तीय प्रणालीमा समेत प्रभाव पार्छ ।
त्यसैले आगामी दिनमा नाफा वृद्धि मात्र नभई खराब कर्जा नियन्त्रण, कर्जा असुली सुधार र जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया