काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले आवश्यक लगानी गर्ने बताएकी छन् ।
शनिबार बिहान हेटौँडा उपमहानगरपालिका–८ स्थित हेटौँडा कपडा उद्योगको निरीक्षण गर्दै मन्त्री यादवले उद्योग सञ्चालनका लागि उपयुक्त ‘मोडालिटी’बारे छलफल भइरहेको जानकारी दिइन् । उनले कपडा उद्योगलगायत लामो समयदेखि बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारी रहेको बताइन् ।
निरीक्षणका क्रममा मन्त्री यादवले नेपाली सेनाका अधिकृतसँग उद्योगको पूर्वाधारको अवस्था, सञ्चालनका सम्भावना तथा आवश्यक मर्मतसम्भारबारे जानकारी लिइन् । उद्योगको वर्तमान अवस्था, सञ्चालनमा देखिएका चुनौती, उत्पादन वृद्धि तथा रोजगारी सिर्जनाका सम्भावनाबारे सरोकारवालासँग समेत छलफल गरिएको थियो ।
निरीक्षण टोलीलाई उद्योगमा रहेका ४८८ वटा मेसिन (तान)मध्ये हाल १२ वटा मात्र सञ्चालनमा रहेको जानकारी गराइएको थियो ।
निरीक्षणमा प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारी, नेपाली सेनाका प्रमुख सेनानी रुपेन शाक्य, हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी व्यवस्थापक संगिता क्वुरलगायत सहभागी थिए ।
साढे दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा तीन साताअघि परीक्षण उत्पादनसमेत गरिएको थियो । सरकारले नेपाली सेनालाई उद्योगको मर्मतसम्भार गरी उत्पादन सञ्चालनको जिम्मेवारी दिएपछि साउन २३ गते दुईवटा लुम (तान) सञ्चालन गरेर प्रारम्भिक उत्पादन परीक्षण गरिएको थियो ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल सरकारको लगानीमा २०३२ सालमा स्थापना भएको हेटौँडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन तथा बढ्दो आर्थिक दायित्वका कारण २०५६ सालदेखि उत्पादन बन्द भएको उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो ।
तत्कालीन सरकारले २०५९ सालमा उद्योग पूर्ण रूपमा बन्द गर्ने औपचारिक निर्णय गरेको थियो । बजार व्यवस्थापनको कमजोरी, प्रविधिको समयसापेक्ष आधुनिकीकरण हुन नसक्नु, लोडसेडिङ, आवश्यकताभन्दा बढी जनशक्ति र कमजोर व्यवस्थापकीय क्षमताका कारण उद्योग धराशायी बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया