गाँजा खेतीलाई व्यवस्थित गर्न कानून निर्माण गरिने

लोकपथ
0
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगका लागि आवश्यक कानूनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले गाँजा उत्पादन तथा बजारीकरणलाई केवल आय, रोजगारी र राजस्व संकलनसँग मात्र जोडेर हेर्न नहुने भन्दै यसको औषधीय उपयोग र नियन्त्रित प्रयोगको सम्भावनाबारे समेत अध्ययन आवश्यक रहेको बताए ।

विज्ञहरूको अध्ययन र निष्कर्षका आधारमा आवश्यक कानून निर्माण गरी गाँजा खेतीलाई व्यवस्थित गर्न सकिए अर्थ मन्त्रालयले पूर्ण सहयोग गर्ने उनको भनाइ छ ।

मन्त्री वाग्लेले विगतमा विकसित मुलुकहरूको दबाबमा गाँजामाथि प्रतिबन्ध लगाइएको भए पनि अहिले तीमध्ये कतिपय देश खुलापनतर्फ अघि बढिरहेको उल्लेख गरे । नेपालले पनि गाँजाको व्यावसायिक तथा औषधिजन्य उपयोगको सम्भावनालाई सकारात्मक रूपमा अघि बढाउनुपर्ने उनले बताए ।

‘गाँजाको व्यावसायिक र औषधिजन्य उपयोगका बारेमा सार्वजनिक बहस भइरहेको छ र विगतका बजेटहरूमा पनि यसको सम्भाव्यता अध्ययन गरिने विषय उल्लेख भइसकेको छ,’ उनले भने, ‘गृह मन्त्री र गृह मन्त्रालयसँग समन्वय गरी यसलाई प्राथमिकताका साथ अगाडि बढाउने आश्वासन दिन चाहन्छु ।’

गाँजा खेतीसम्बन्धी विषय मुख्यतः गृह मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने भएकाले थप अध्ययन र कानूनी निक्र्यौलका लागि गृह मन्त्रालयसँग समन्वय गरिने उनले बताए ।

औद्योगिक प्रवद्र्धन, रोजगारी सिर्जना र सरकारी राजस्व वृद्धिको दृष्टिकोणबाट गाँजा खेतीको सम्भावनालाई अर्थ मन्त्रालयले प्राथमिकतामा राख्ने पनि मन्त्री वाग्लेले स्पष्ट पारे । उनले यस विषयलाई तदारुकताका साथ निष्कर्षमा पुर्‍याउन आफूले पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?