एनएमबी बैंकमा अब अनलाइनबाटै कर्जा आवेदन, आवेदनको अवस्था रियलटाइममै हेर्न सकिने

लोकपथ
0
Shares

काठमाडौं । एनएमबी बैंकले ग्राहकले घर वा कार्यालयबाटै कर्जा आवेदन दिन र त्यसको अवस्था रियलटाइममा हेर्न सक्ने अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ ।

बैंकका अनुसार नयाँ डिजिटल प्रणालीले कर्जा लिनका लागि शाखा धाउनुपर्ने तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट घटाउनेछ। ग्राहकले मोबाइल, कम्प्युटर वा अन्य उपकरणबाटै अनलाइन आवेदन दिन सक्नेछन् ।

नयाँ प्रणालीमार्फत कर्जा आवेदनको सुरुदेखि अन्तिम प्रक्रियासम्मलाई डिजिटल बनाइएको बैंकले जनाएको छ। आवेदन दिएपछि ग्राहकले तत्कालै अनलाइन लोन ट्र्याकिङ आईडी प्राप्त गर्नेछन्। सोही आईडी प्रयोग गरेर आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी रियलटाइममा हेर्न सकिनेछ।

कसरी दिने अनलाइन कर्जा आवेदन ?

ग्राहकले एनएमबी बैंकको डिजिटल पोर्टल digi.nmb.com.np मा गएर ‘लोन सर्भिसेज’ छनोट गर्नुपर्नेछ । त्यसपछि ‘एक्सप्लोर प्रडक्ट्स’ मा क्लिक गरी आफूले लिन चाहेको कर्जा छनोट गर्न सकिनेछ ।

कर्जा छनोट गरेपछि आवश्यक विवरण भरेर आवेदन बुझाउनुपर्नेछ । फारम बुझाएलगत्तै ग्राहकले युनिक अनलाइन लोन ट्र्याकिङ आईडी प्राप्त गर्नेछन् ।

त्यसपछि उक्त ट्र्याकिङ आईडी प्रयोग गरी आफ्नो कर्जा आवेदनको अवस्था अनलाइनबाटै हेर्न सकिने बैंकले जनाएको छ ।

शाखा धाउनुपर्ने बाध्यता घट्ने

बैंकका अनुसार नयाँ प्रणालीले कर्जा आवेदन प्रक्रियामा हुने म्यानुअल काम र कागजी झन्झट घटाउनुका साथै ग्राहकको समय बचत गर्नेछ । आवेदन प्रक्रियामा पारदर्शिता बढ्ने र कर्जा सेवाको टर्नअराउन्ड टाइमसमेत घटाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ ।

डिजिटल माध्यमबाट कर्जा प्रक्रियालाई अघि बढाउँदा कागजको प्रयोग घट्ने भएकाले बैंकले यसलाई वातावरणमैत्री तथा दिगो बैंकिङ सेवातर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ ।

एनएमबी बैंकले खुद्रा तथा व्यावसायिक दुवै ग्राहकलाई लक्षित गर्दै यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकले डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै देशभर १९७ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

नयाँ प्रणालीसँगै कर्जा आवेदनको अवस्था बुझ्न पटक–पटक शाखा पुग्नुपर्ने अवस्थाको अन्त्य हुने र ग्राहकले आफ्नो आवेदनको प्रगति आफैं अनलाइनबाट निगरानी गर्न सक्ने बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?