काठमाडौं । हुन्डाईले लोकप्रिय एसयूभी टुसानको पाँचौँ पुस्ता सार्वजनिक गरेको छ । नयाँ टुसानलाई कम्पनीले अघिल्लो मोडलभन्दा ठूलो, आकर्षक र आधुनिक डिजाइनमा तयार गरेको छ ।
नयाँ टुसानको डिजाइन पहिलेका मोडलभन्दा निकै फरक छ । यसको अगाडिको भागदेखि पछाडिसम्म तिखा र बलिया लाइनहरू प्रयोग गरिएको छ । कम्पनीले नयाँ डिजाइनलाई ‘आर्ट अफ स्टिल’ अवधारणामा तयार गरेको जनाएको छ ।
गाडीको अगाडि र पछाडि एच आकारका लाइट राखिएका छन् । ठूला सिसा र बाकस आकारको डिजाइनका कारण नयाँ टुसान पहिलेभन्दा बलियो र रफ देखिन्छ ।
नयाँ टुसानको लम्बाइ ४ हजार ७०० मिलिमिटर, चौडाइ १ हजार ९०५ मिलिमिटर र उचाइ १ हजार ६८५ मिलिमिटर छ । अघिल्लो मोडलको तुलनामा यसको लम्बाइ ६०, चौडाइ ४० र उचाइ २० मिलिमिटर बढाइएको छ ।
त्यस्तै, ह्वीलबेस ३० मिलिमिटर बढाएर २ हजार ७८५ मिलिमिटर पुर्याइएको छ । आकार बढेसँगै गाडीको भित्री भाग पनि फराकिलो बनाइएको छ । पछाडिको ढोका १० डिग्री बढी खुल्ने भएकाले यात्रुलाई गाडीमा प्रवेश गर्न र बाहिरिन सहज हुनेछ । पछाडिको सिटमा बस्ने यात्रुले पनि बढी हेडरुम पाउनेछन् ।
१७ इन्चको डिस्प्ले
नयाँ टुसानको इन्टेरियरलाई पनि पूर्ण रूपमा परिवर्तन गरिएको छ । यसमा हुन्डाईको नयाँ ‘प्लियोस’ इन्फोटेनमेन्ट प्रणाली प्रयोग गरिएको छ । यो प्रणाली १७ इन्चको ठूलो कर्भ्ड डिस्प्लेमा उपलब्ध हुनेछ ।
डिजिटल प्रविधिको प्रयोग बढिरहेका बेला हुन्डाईले चालकको सहजताका लागि स्क्रिनमुनि भौतिक बटनहरू पनि राखेको छ । चालकको अगाडि पातलो डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले दिइएको छ ।
गाडीको भित्री भागमा प्रिमियम कपडा, काठको फिनिसिङ र एम्बियन्ट लाइटिङ प्रयोग गरिएको छ । यसले क्याबिनलाई थप आरामदायी र प्रिमियम बनाएको छ ।
कम्पनीले नयाँ टुसानको इन्जिन र अन्य प्राविधिक विवरण भने अहिले सार्वजनिक गरेको छैन । बजारमा आउँदा यसमा एक्सआरटी र एन लाइनजस्ता थप भेरियन्ट आउने अपेक्षा गरिएको छ ।
नयाँ टुसान दक्षिण कोरियाली बजारमा सन् २०२६ को अन्त्यदेखि बिक्रीमा आउनेछ । सन् २०२७ सम्ममा यो विश्वका अन्य बजारमा समेत उपलब्ध हुने कम्पनीको योजना छ ।
नेपालमा हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पहिलो पुस्तादेखि नै टुसानका विभिन्न मोडल बिक्री गर्दै आएको छ । नेपालमा हाल टुसानका जीएल, जीएल एक्स र जीएल एक्स प्लसजस्ता भेरियन्ट उपलब्ध छन् ।
पाँचौँ पुस्ताको नयाँ टुसान भने सन् २०२७ तिर नेपाली बजारमा आउने अनुमान गरिएको छ । नेपालमा आएपछि यसले प्रिमियम एसयूभी बजारमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया