ठेक्का तोडिएका व्यवसायीलाई बाँकी बक्यौता बुझाउन ३५ दिने अल्टिमेटम

लोकपथ
126
Shares

इलाम । सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता तोडिएका विभिन्न निर्माण व्यवसायीलाई सरकारी बाँकी रकम ३५ दिनभित्र दाखिला गर्न अन्तिम ताकेता गरेको छ ।

डिभिजनअन्तर्गत सञ्चालित विभिन्न आयोजनामा सम्झौताअनुसारको दायित्व पूरा नगरी गम्भीर सम्झौता उल्लङ्घन गरेका निर्माण व्यवसायीका ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ ।

ठेक्का अन्त्यपश्चात् सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(८) तथा सार्वजनिक खरिद सम्झौताबमोजिम कायम भएको सरकारी बाँकी रकम असुल गर्न कार्यालयले पटक–पटक ताकेता गर्दै आएको थियो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम रकम दाखिला गर्न आग्रह गरिए पनि हालसम्म रकम नबुझाएपछि कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै अन्तिमपटक रकम दाखिला गर्न आह्वान गरेको हो ।

सूचनाअनुसार ठेक्का रद्द भएका निर्माण व्यवसायीले सरकारी बाँकी रकम नेपाल सरकारको नेपाल बैंक लिमिटेडमा रहेको राजस्व खातामा जम्मा गर्नुपर्नेछ । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र राजस्व खाता नम्बर ००१०१००००००००१००१००१, राजस्व कोड नम्बर १४३१२ र कार्यालय कोड नम्बर ३३७०१०३०१ मा रकम दाखिला गरी बैंक भौचर सडक डिभिजन कार्यालय इलाममा पेस गर्नुपर्नेछ।

कार्यालयका अनुसार रकम दाखिला गर्न बाँकी निर्माण व्यवसायीमध्ये पाँचथरको बुढाथोकी निर्माण सेवाले २३ लाख ४ हजार ५८७ रुपैयाँ ४५ पैसा र ताप्लेजुङको मावोहाङ निर्माण सेवाले १ करोड ८ लाख २५ हजार २ रुपैयाँ ६२ पैसा बुझाउनुपर्नेछ ।

त्यस्तै, मकवानपुरको शिव शक्ति इन्फ्रा डेभलपर्स प्रालिका दुई ठेक्काबापत क्रमशः ४ करोड ५९ लाख ७१ हजार ५६३ रुपैयाँ ७५ पैसा र ३ करोड ४२ लाख ४७ हजार ७०८ रुपैयाँ ६८ पैसा बाँकी रहेको कार्यालयले जनाएको छ ।

यस्तै इलामको एम।डि।ब्रो। कन्स्ट्रक्सन प्रालिले ९ लाख ३४ हजार ७५० रुपैयाँ १ पैसा, धनकुटाको शाहरपूजा जेभीले दुई ठेक्काबापत क्रमशः ८६ लाख ३३ हजार ३१३ रुपैयाँ ७८ पैसा र ५७ लाख ३६ हजार ९५९ रुपैयाँ ६७ पैसा तथा धनकुटाकै आशिवर्दिरपूजा जेभीले १ करोड ७१ लाख ७४ हजार १६३ रुपैयाँ ९२ पैसा दाखिला गर्नुपर्नेछ ।

यसैगरी इलामको माईजोगमाईस्थित एबिसी निर्माण सेवाले १ करोड १८ लाख १३ हजार ३८४ रुपैयाँ २३ पैसा, धनुषाको के.एम. कन्स्ट्रक्सनले ३६ लाख ८७ हजार ७२६ रुपैयाँ ३६ पैसा, पाँचथरको टेक एण्ड सपना कन्स्ट्रक्सन प्रालिले ७९ लाख ४९ हजार २४५ रुपैयाँ २९ पैसा तथा धनुषाको गायत्री माँ कन्स्ट्रक्सन एण्ड समरित कन्स्ट्रक्सन जेभीले १ करोड ९९ लाख १४ हजार ४४७ रुपैयाँ ९९ पैसा सरकारी बाँकी रकम दाखिला गर्नुपर्नेछ ।

सडक डिभिजन कार्यालय इलामले तोकिएको समयभित्र रकम दाखिला नगरे प्रचलित कानुनबमोजिम थप कारबाही अघि बढाइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?