नेपाल बैंकको खुद नाफा साढे ४ अर्ब, अधिकांश वित्तीय सूचकमा सुधार

लोकपथ
7
Shares

काठमाडौं । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ५० करोड १ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.२० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष बैंकको खुद नाफा ३ अर्ब ७ करोड ८० लाख ३० हजार रुपैयाँ थियो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ३२ करोड ७९ लाख ६० हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश वितरण क्षमता १५.८४ प्रतिशत रहेको छ ।

१४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब २५ करोड २१ लाख २३ हजार रुपैयाँ सञ्चित छ ।

गत असारसम्म बैंकको निक्षेप संकलन २५.०२ प्रतिशतले बढेर ४ खर्ब १५ अर्ब १८ करोड २९ लाख रुपैयाँ पुगेको छ । यस्तै, कर्जा लगानी १०.४७ प्रतिशतले बढेर २ खर्ब ४३ अर्ब ५९ करोड ६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ३ खर्ब ३२ अर्ब ९ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २० अर्ब ४९ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

गत असारसम्म बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ६२.८५ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष २०.९५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर ३०.६३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २८७.७० रुपैयाँ तथा मूल्य–आम्दानी अनुपात ८.५४ गुणा रहेको छ ।

बैंकको खराब कर्जा अनुपात पनि घटेको छ । अघिल्लो वर्ष ४.५६ प्रतिशत रहेको खराब कर्जा घटेर ४.१८ प्रतिशतमा झरेको हो ।

यस्तै, बैंकको कोर क्यापिटलअन्तर्गत टायर–वान क्यापिटल एडिक्वेसी रेसियो ९.४१ प्रतिशतबाट बढेर ११.२७ प्रतिशत पुगेको छ । समग्र क्यापिटल एडिक्वेसी रेसियो भने १३.६६ प्रतिशत कायम भएको छ ।

समग्रमा, नाफा, निक्षेप तथा कर्जा विस्तारसँगै प्रतिसेयर आम्दानी र पुँजी पर्याप्ततामा सुधार आउँदा नेपाल बैंकका प्रमुख वित्तीय सूचकहरूमा सकारात्मक प्रगति देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?