नाफामा फर्कियो एनआईसी एशिया बैंक, खराब कर्जा ९.२६ प्रतिशत पुग्दा चुनौती उत्तिकै

३ अर्ब ८७ करोड घाटाबाट १८ करोड नाफा, तर वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड ऋणात्मक

लोकपथ
7
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले घाटा पूर्ति गर्दै नाफा कमाएको छ ।

गत आर्थिक वर्ष २०८२–०८३ मा बैंकले सार्वजनिक गरेको चौथो चौमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंक १८ करोड १७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो ।

त्यसो त बैंकले गत आर्थिक वर्ष ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ घाटा व्यहोरेको थियो । एक वर्षमा नै अर्बौँको घाटालाई पूर्ति गर्दै नाफामा जानुलाई बैंकको वित्तीय सुधारको महत्वपूर्ण संकेतका रुपमा लिन सकिन्छ । तर वित्तीय विवरणका सबै सूचक हेर्दा एनआईसी एशियाको संकट पूर्णरूपमा टरिसकेको निष्कर्षमा पुग्न भने हतार हुने देखिन्छ ।

यी इन्डिकेटर, जसले अझै पनि बैंकको संकट कायम छ भन्ने तथ्य देखाउँछ । बैंकको वितरणयोग्य नाफा अझै १४ अर्ब ८६ करोड ५० लाख रुपैयाँ ऋणात्मक छ । अर्थात् खुद नाफा सकारात्मक भए पनि शेयरधनीलाई लाभांश बाँड्न सक्ने अवस्थामा बैंक अझै पुगेको छैन ।

बैंकको खुद नाफा घाटाबाट नाफामा फर्किँदा खुद ब्याज आम्दानी भने २२.५६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १० अर्ब १३ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी यसपटक घटेर ७ अर्ब ८४ करोड ५० लाख रुपैयाँ मा सीमित भएको छ ।

अर्थात् बैंकको नाफा सुधारलाई केवल व्यवसाय विस्तारको परिणाम भनेर बुझ्न मिल्ने अवस्था छैन । बैंकको खुद शुल्क तथा कमिसन आम्दानी भने बढेको छ । समीक्षा अवधिमा यस्तो आम्दानी १ अर्ब ४२ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

खराब कर्जाले थपेको चुनौती

बैंक यो आर्थिक वर्षमा नाफामा फर्किए पनि बैंकको खराब कर्जा अनुपात अझै उच्च छ । चौथो त्रैमाससम्म बैंकको एनपीएल अर्थात खराब कर्जा ९.२६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ८.७४ प्रतिशत रहेको खराब कर्जा अझै बढ्नु बैंकका लागि गम्भीर चुनौती हो ।

खराब कर्जाको उच्च दरले भविष्यमा पुनः ठूलो प्रोभिजनिङको दबाब आउन सक्ने जोखिमसमेत रहन्छ । यसपटक बैंकको नाफा सुधारमा इम्पेयरमेन्टरप्रोभिजनिङ घट्नु महत्वपूर्ण कारण बनेको देखिन्छ । अघिल्लो वर्ष ठूलो घाटा व्यहोरेको बैंकले यसपटक जोखिम व्यवस्थापनमा केही सुधार गर्दै नाफालाई सकारात्मक बनाउन सफल भएको छ । त्यसैले अहिलेको नाफालाई बैंकको पूर्ण व्यवसायिक ‘कमब्याक’ भन्दा पनि वित्तीय पुनर्संरचना र जोखिम व्यवस्थापनमा आएको सुधारको संकेतका रूपमा हेर्न सकिन्छ ।

निक्षेप बढ्यो, कर्जा घट्यो

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको निक्षेप संकलन भने बढेको छ । असार मसान्तसम्म निक्षेप ३ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । तर कर्जा विस्तारमा भने त्यति उत्साहजनक अवस्था देखिँदैन । बैंकको कर्जा लगानी करिब १ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ । यसले बैंकले पछिल्लो समय आक्रामक कर्जा विस्तारभन्दा पुरानो कर्जा व्यवस्थापन र जोखिम नियन्त्रणमा बढी ध्यान दिएको संकेत गर्छ ।

एनआईसी एशियाको सबैभन्दा ठूलो प्रश्न अब यही हो, १८ करोडको नाफा आगामी वर्ष दिगो बन्न सक्छ कि सक्दैन ? किनकी एकातर्फ खुद नाफा सकारात्मक भएको छ, अर्काेतर्फ वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी ऋणात्मक छ । त्यसैले तत्काल लाभांशको अपेक्षा गर्ने अवस्था छैन ।

गत आर्थिक वर्षमा बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रूपैयाँ रहेको छ भने जगेडा कोषमा २५ अर्ब ६५ करोड ३० लाख रूपैयाँ सञ्चित छ ।

गत आवको अन्त्यसम्म बैंकले ३ खर्ब ४३ अर्ब ६७ करोड ९० लाख रूपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको कर्जा लगानी भने १ खर्ब ९२ अर्ब १ करोड ६१ लाख रूपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १ रूपैयाँ २२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७२ रूपैयाँ ३२ पैसा रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा नराम्रो घाटा ब्यहोरेको एनआईसी एशिया बैंक नाफामा फर्किए पनि चुनौती भने घटेको छैन ।

खुद ब्याज आम्दानी घट्नु, वितरणयोग्य नाफामा ठूलो ऋणात्मक रहनु, खराब कर्जा ९ दशमलव २६ प्रतिशत पुग्नु आदी कारणले पनि नाफामा फर्किए पनि अन्य चुनौती पार गरेर बैंक लयमा फर्किन भने केही समय लाग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?