ट्रम्पलाई इरानको जवाफ– ‘सर्त स्वीकार नगरेसम्म होर्मुज बन्द हुन्छ’

लोकपथ
28
Shares

काठमाडौं । इरानले होर्मुज जलमार्गमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार गरेको छ ।

इरानले होर्मुज जलमार्ग अझै बन्द रहेको र आफ्ना सर्त पूरा नभएसम्म नखोल्ने जनाएको छ ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत अमेरिकाले होर्मुज जलमार्गमा पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेका थिए । उनले अमेरिकी नौसैनिक नाकाबन्दीलाई ‘स्टिलको पर्खाल’ भन्दै इरानले त्यसलाई हटाउन नसक्ने बताएका थिए ।

तर, इरानको पर्सियन गल्फ स्ट्रेट अथोरिटीले अमेरिकी अधिकारीका भनाइले जलमार्गको वास्तविक अवस्था परिवर्तन गर्न नसक्ने स्पष्ट पारेको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसिन रेजाईले पनि होर्मुज जलमार्ग तत्काल नखोलिने बताएका छन् । उनका अनुसार अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य गर्नुपर्ने, इरानको जफत गरिएको सम्पत्ति फिर्ता गर्नुपर्ने तथा लेबनान र गाजासहित विभिन्न क्षेत्रमा युद्धविरामका लागि सहमति हुनुपर्नेछ । यी सर्त पूरा नभएसम्म होर्मुज जलमार्ग बन्द रहने इरानको भनाइ छ ।

होर्मुज जलमार्ग विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो। यसबाट विश्वको कुल पेट्रोलियम व्यापारको करिब २० प्रतिशत हिस्सा आवतजावत गर्ने भएकाले यसको बन्दले विश्वव्यापी तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?