काठमाडौं । अमेरिकी सेनाले इरानी बन्दरगाहमाथि लगाइएको समुद्री नाकाबन्दी तोड्ने प्रयास गरेको आरोपमा ओमानको खाडीमा एक मालवाहक जहाजमा आक्रमण गरेको छ ।
मंगलबार भएको यो आक्रमण इरानसँगको अमेरिकी–इजरायली युद्धमा जुलाईमा देखिएको १३ दिने तनावपछि तुलनात्मक रूपमा शान्त रहेको अवधिबीच भएको हो ।
मध्यपूर्व क्षेत्र हेर्ने अमेरिकी सेन्ट्रल कमान्डका अनुसार अमेरिकी नौसेनाको हेलिकोप्टरले पानामाको झण्डा बोकेको ‘भेला नोभा’ नामक मालवाहक जहाजमाथि दुईवटा ‘हेलफायर’ क्षेप्यास्त्र प्रहार गरेको हो ।
सेन्ट्रल कमान्डले जारी गरेको विज्ञप्तिमा उक्त जहाजले ओमानको खाडी पार गरी इरानी बन्दरगाहतर्फ अघि बढेर इरानविरुद्धको अमेरिकी नाकाबन्दी उल्लंघन गर्ने प्रयास गरेको उल्लेख छ ।
अमेरिकी सेनाका अनुसार आक्रमणमा जहाजको इन्जिन रुमलाई निशाना बनाइएको थियो । जहाजका चालक दलले अमेरिकी सेनाले दिएको बारम्बारको चेतावनी बेवास्ता गरेको आरोप पनि सेन्ट्रल कमान्डले लगाएको छ ।
आक्रमणमा चालक दलका कुनै सदस्य घाइते भए वा नभएकोबारे भने अमेरिकी सेनाले केही जानकारी दिएको छैन । इरानी बन्दरगाहमाथि लगाइएको नाकाबन्दी कार्यान्वयन गर्ने क्रममा अमेरिकी सेनाले हालसम्म ५५ वटा व्यावसायिक जहाजलाई निष्क्रिय पारेको छ ।
हालै पुनः सुरु भएको सैन्य संघर्षबीच अमेरिकाले इरानी बन्दरगाहमाथि पुनः समुद्री नाकाबन्दी लागु गरेको छ ।
इरानले पनि हर्मुज जलमार्गमा पुनः आफ्नो नियन्त्रण कायम गरेको दाबी गरेको छ । जुन महिनाको समझदारीपत्रमा यी दुवै व्यवस्था हटाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया