विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

लोकपथ
56
Shares

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने करमा छुट दिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एम्बुलेन्स र शव वाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

‘नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रुपमा छुट प्रदान गर्ने,’ प्रवक्ता पोखरेलले भने ।

यसैगरी, पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद–विक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती (बारा) लाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिए ।

यस्तै सरकारले पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय पनि गरेको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु :

१. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने।

२. सुनसरी-सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गनेश कुमार यादवलाई सहिद घोषणा गर्ने।

३.पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय (कन्सुलर अफिस) खोल्न सहमति दिने।

४. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती, बारालाई नियुक्ति गर्ने।

५. पूर्वमहालेखापरीक्षक श्री टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?