स्वर्ण जयन्ती मनाउँदै नाडा : भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, उपभोक्ताका लागि के छ नयाँ ?

लोकपथ
7
Shares

काठमाडौं । नेपाली अटोमोबाइल बजारको ठूलो प्रदर्शनी ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गर्ने अटो शोको यो १८औँ संस्करण हो । नाडाको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा आयोजना हुन लागेको प्रदर्शनीमा करिब २०० वटा स्टल रहनेछन् ।

अटो शोमा विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका सवारीसाधन, पार्टपुर्जा, कम्पोनेन्ट, लुब्रिकेन्ट र अन्य अटोमोबाइलसम्बन्धी सामग्री प्रदर्शन गरिनेछ।

नाडाका अनुसार प्रदर्शनीमा २२ ब्रान्डका प्यासेन्जर कार, १६ ब्रान्डका लाइट कमर्सियल भेहिकल र १२ ब्रान्डका दुईपांग्रे सवारीसाधन सहभागी हुनेछन् । यस्तै, ८ नेपाली उत्पादकसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य व्यवसायीले पनि आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्नेछन् ।

पछिल्लो समय सुस्त रहेको अटोमोबाइल बजारलाई चलायमान बनाउन अटो शोले सहयोग गर्ने नाडाको अपेक्षा छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा सहज रूपमा उपलब्ध नहुनु, ब्याजदरमा आएको उतारचढाव र उपभोक्ताको क्रयशक्तिमा आएको प्रभावले अटो बजार सुस्त भएको व्यवसायीहरूले बताउँदै आएका छन् ।

अटो शोमा विभिन्न ब्रान्डका नयाँ मोडल र प्रविधि एकै ठाउँमा हेर्न पाउने भएकाले उपभोक्तालाई सवारीसाधन छनोट गर्न सहज हुने आयोजकको भनाइ छ । यसबाट व्यवसायी र उपभोक्ताबीच कारोबार बढ्ने अपेक्षा गरिएको छ।

यस वर्ष नेपाली उत्पादकलाई पनि प्राथमिकता दिइएको छ । ८ नेपाली उत्पादकले आफ्ना उत्पादन प्रदर्शन गर्नेछन् । यसले नेपालमा अटोमोबाइल तथा पार्टपुर्जा उत्पादन र एसेम्ब्लीको सम्भावनाबारे जानकारी दिन सहयोग पुग्ने नाडाले जनाएको छ ।

नाडाका अनुसार अटो शो व्यवसायीका लागि व्यापार तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर पनि हुनेछ। प्रदर्शनीमा अटो व्यवसायी, उपभोक्ता, वित्तीय संस्था, बीमा कम्पनी, पार्टपुर्जा व्यवसायी तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ ।

भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने अटो शोमा देशभरका अटो व्यवसायी, उपभोक्ता तथा अटोमोबाइलमा रुचि राख्ने सर्वसाधारणको उल्लेख्य सहभागिता हुने आयोजकले अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?