जीवन बीमा कम्पनीहरुले डेढ खर्ब बढी नवीकरण शुल्क उठाए, कुनको कति ?

लोकपथ
14
Shares

काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा ९ दशमलव ३६ प्रतिशत बढीले बीमालेख नवीकरण वापतको बीमा शुल्क संकलन गरेका छन् ।

गत आर्थिक वर्ष २०८२–०८३ मा १४ बीमा कम्पनीहरुले बीमालेख नवीकरणबाट १ खर्ब ५० अर्ब ६१ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

त्यसो त अघिल्लो आर्थिक वर्ष ०८१–०८२ मा जीवन बीमकहरुले नवीकरण बीमा शुल्कबाट १ खर्ब ३७ अर्ब ७३ करोड २ लाख बीमा शुल्क उठाउन सफल भएका थिए ।

बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा नवीकरण बीमा शुल्कमा उल्लेख्य रुपमा बढेको देखिएको हो ।

बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको देखिन्छ ।

प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षमा नेपाल लाइपmले ४० अर्ब ६० करोड ९२ लाख रुपैयाँ संकलन गरेको छ । त्यसो त अघिल्लो वर्ष ३७ अर्ब २९ करोड ५० लाख रुपैयाँ संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा नेपाल लाइफको बीमा शुल्क ८ दशमलव ८९ प्रतिशतले बढी हो ।

त्यस्तै दोस्रो स्थानमा नेसनल लाइफ इन्स्योरेन्स रहेको छ । सो अवधिमा नेसनल लाइफले १७ अर्ब ७४ करोड ५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा १६ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ संकलन गरेको नेसनल लाइफको संकलित रकम ८ दशमलव ३१ प्रतिशतले बढी हो ।

यता गत आर्थिक वर्षमा बीमा शुल्क संकलनका हिसावले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) तेस्रो स्थानमा रहेको छ । यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले १७ अर्ब ६९ करोड ६६ लाख रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीको बीमालेख शुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको संकलन ४.७९ प्रतिशतले बढी हो ।

प्राप्त तथ्यांक अनुसार हिमालयन लाइफ इन्स्योरेन्सले १५ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा हिमालयन लाइफले १४ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

यता सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ९ अर्ब १६ करोड ११ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ८४ करोड २८ लाख रुपैयाँ, एसियन लाइफले ७ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ, सिटिजन्स लाइफले ६ अर्ब ६ करोड १२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यता सानिमा रिलायन्स लाइफले ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ तथा मेटलाइफले ५ अर्ब २१ करोड ९१ लाख, आइएमई लाइफले ४ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १८ करोड ४९ लाख रुपैयाँ नवीकरण शुल्क संकलन गरेका छन् ।

यसैगरी रिलायबल नेपाल लाइफले ४ अर्ब १४ करोड ७० लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब २६ करोड ३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?