कास्कीमा ग्यास अभाव हटाउन प्रशासन सक्रिय, आपूर्ति सहज बनाउन अनुगमन तीव्र

लोकपथ
7
Shares
ग्यासको सांकेतिक तस्बिर

कास्की । बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले ग्यासको आपूर्ति र वितरणलाई सहज बनाउन सक्रिय पहल थालेको छ । कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र बनाइएको प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पोखरामा रहेका ग्यास बिक्रेतालाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न र नियमित रूपमा उपभोक्तासम्म ग्यास उपलब्ध गराउन निर्देशन दिइएको छ । उनले पोखरामा ग्यास आपूर्ति गर्ने १९ वटा कम्पनीसँग समन्वय गरी आपूर्ति र बिक्री वितरणलाई सहज बनाउन आग्रह गरिएको जानकारी दिए ।

‘प्रशासनका तर्फबाट आवश्यक समन्वय भइरहेको छ । बजार अनुगमन पनि निरन्तर चलिरहेको छ । आजभोलिसम्ममा तीनवटा ग्यास बुलेट पोखरा भित्रिने भएकाले हाल देखिएको समस्या क्रमशः समाधान हुँदै जानेछ,‘सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए । उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चित नगरी ढुक्क हुन पनि आग्रह गरे ।

केही दिनअघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सरोकारवालाबीच बसेको बैठकले ग्यासको आपूर्ति, बिक्री वितरण र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार ग्यास उद्योग तथा बिक्रेतालाई दैनिक प्राप्त र वितरण भएको ग्यासको अभिलेख राख्न तथा उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री गरिएको परिमाणको विवरण अद्यावधिक गर्न निर्देशन दिइएको छ ।

प्रशासनले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन पनि आग्रह गरेको छ । साथै, बिक्रेता र उपभोक्तालाई कृत्रिम अभाव सिर्जना नगर्न, कालोबजारी नगर्न तथा आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न सचेत गराइएको छ ।

यस्तै, ग्यास उद्योगलाई बिक्रेतामार्फत ग्यासको सही वितरण भए–नभएको नियमित अनुगमन गर्न निर्देशन दिइएको छ । बजारमा कुनै अनियमितता देखिएमा जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराई सहयोग गर्न प्रशासनले सबै पक्षसँग अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?