काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई सडकमा उतारेर आन्दोलनको वातावरण सिर्जना गर्ने र त्यसबाट उत्पन्न हिंसाको दोष विपक्षी दलहरूमाथि थोपर्ने गरेको आरोप लगाएका छन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सत्तापक्षको रणनीतिमाथि व्यङ्ग्य गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले आफ्नै कार्यकर्तालाई आन्दोलनकारीका रूपमा प्रस्तुत गर्ने, उनीहरूसँगै वार्ता गरेर सहमति गर्ने र त्यसपछि हिंसाको जिम्मेवारी विपक्षीमाथि थोपर्ने प्रवृत्ति देखिएको दाबी गरेका छन् ।
पोखरेलले फेसबुकमा लेखेका छन्, ‘आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चाहिँ अरूमाथि थोपर्ने यो जुक्ति गजबको छैन त ?’
पछिल्लो समय देशमा भइरहेका विभिन्न आन्दोलन, झडप तथा सरकार र आन्दोलनरत पक्षबीच भएका सहमतिहरूलाई लक्षित गर्दै पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
उनले सत्तासीन शक्तिले योजनाबद्ध रूपमा परिस्थिति भड्काउने र त्यसको राजनीतिक जिम्मेवारीबाट उम्किन विपक्षीलाई दोष दिने प्रयास गरेको आरोपसमेत लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया