काठमाडौं । सार्वजनिक बिदाको दिनमा समेत राहदानी विभागमा ई–पासपोर्ट बनाउने सेवाग्राहीको भीड लागेको छ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदनका लागि राहदानी बनाउन आउनेको संख्या एक्कासी बढेपछि विभागले शनिबार र आइतबार पनि सेवा सञ्चालन गरेको हो।
विभागका अनुसार सार्वजनिक बिदाको दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानी सेवा उपलब्ध गराइएको छ। ईपीएस आवेदनको समयसीमा नजिकिँदै जाँदा आइतबार बिहानैदेखि विभागमा सेवाग्राहीको लामो लाइन देखिएको थियो।
राहदानी बनाउन आएका सेवाग्राहीहरूले भने समयमै राहदानी नपाएको गुनासो गरेका छन्। रोल्पाबाट ईपीएस परीक्षाका लागि काठमाडौं आएका तिलकबहादुर घर्ती मगरले आवेदन दिन वेबसाइट नखुल्ने, आवेदनपछि एसएमएस नआउने र एक साताभन्दा बढी समय बितिसक्दा पनि राहदानी हात नपरेको बताए। राहदानी ढिलो हुँदा ईपीएस आवेदनको अन्तिम म्याद गुम्ने जोखिम रहेको भन्दै उनले सेवा छिटो र व्यवस्थित बनाउन सरकारसँग आग्रह गरे।
यता राहदानी विभागले नयाँ प्रणाली स्थिर हुने क्रममा देखिएका प्राविधिक समस्या र ईपीएस आवेदनका कारण बढेको अस्वाभाविक चापले केही ढिलाइ भएको स्वीकार गरेको छ।
विभागका निर्देशक दीपक बञ्जाडेका अनुसार राहदानी अभाव नभए पनि प्रणालीमा देखिएका प्राविधिक त्रुटिका कारण केही सेवाग्राहीले निर्धारित समयमा राहदानी पाउन सकेका छैनन् । उनले ‘अर्जेन्ट’ राहदानी सेवा दुई कार्यदिन (४८ कार्यघण्टा) भित्र उपलब्ध गराउने व्यवस्था रहेको बताए ।
उनका अनुसार ईपीएस आवेदनका कारण दैनिक तीन–चार हजार अतिरिक्त आवेदन परेकाले सेवा व्यवस्थापनमा चुनौती थपिएको छ । प्राविधिक त्रुटि भएका फाइलमा भने थप एक कार्यदिन लाग्न सक्ने उनले जानकारी दिए ।
बञ्जाडेले अधिकांश सेवाग्राहीलाई राहदानी तयार भएको वा आवश्यक कागजात अपलोड गर्नुपर्ने जानकारी एसएमएसमार्फत पठाइने गरेको बताए । केही दिनअघि एसएमएस सेवा प्रदायक कम्पनीलाई भुक्तानी सम्बन्धी समस्या हुँदा केही सेवाग्राहीसम्म सन्देश नपुगे पनि अहिले उक्त समस्या समाधान भइसकेको उनले स्पष्ट पारे ।
उनका अनुसार केही सेवाग्राहीको राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँग समन्वय नमिल्दा पनि राहदानी प्रक्रिया रोकिएको थियो । अहिले विभागमै एनआईडीका कर्मचारी खटाएर त्यस्ता समस्या समाधान गर्ने व्यवस्था मिलाइएको छ ।
निर्देशक बञ्जाडेले राहदानी अभावको हल्लाका कारण तत्काल आवश्यकता नभएका व्यक्तिहरू पनि आवेदन दिन आइरहेको बताए । उनले अर्को सातादेखि करिब एक महिनासम्मका लागि राहदानी आवेदन फारम खुला गर्ने तयारी रहेको जानकारी दिँदै अत्यावश्यक परेकाले मात्रै अहिले आवेदन दिन आग्रह गरे ।
हाल विभागले दैनिक करिब एक हजार पाँच सय राहदानी छपाइ तथा वितरण गरिरहेको जनाएको छ। ईपीएस आवेदनको चाप व्यवस्थापन गर्न साउन १४ देखि २२ गतेसम्म दुई सिफ्टमा सेवा सञ्चालन गरिएको छ । पहिलो सिफ्ट बिहान ७ देखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन भइरहेको विभागले जनाएको छ । साथै शनिबार र आइतबार सार्वजनिक बिदाका दिन पनि बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानी सेवा निरन्तर उपलब्ध गराइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया