सरकारको कार्यशैलीप्रति सन्तुष्ट छैनन् सत्तारुढ सांसद मनिष झा

लोकपथ
0
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले तराई–मधेश र पूर्वका केही जिल्लाहरूमा विकसित पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन् ।

संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद झाले सुरक्षा संवेदनशीलता र सामाजिक सद्भाव कायम राख्न राज्यको सक्रियता पर्याप्त नभएको टिप्पणी गरे ।

सांसद झाले मधेश प्रदेशका करिव २० जना सांसदहरूले पार्टी सभापति रवि लामिछानेसँग सो क्षेत्रको सुरक्षा अवस्थाबारे विशेष छलफल गरेको जानकारी दिए ।

गोलीकाण्डबाट हालसम्म सुनसरीमा २ जनाको मृत्यु र त्यसपछिको परिस्थितिप्रति लक्षित गर्दै झाले राज्यको सक्रियता र तदारुकतामा कमजोरी देखिएको बताए ।

पीडित परिवारले हालसम्म शव बुझ्न नसकेको, सान्त्वना र उचित क्षतिपूर्तिको व्यवस्था नभएको भन्दै उनले गृह प्रशासनको ध्यानाकर्षण गराए ।

उनले भने, ‘मधेशको विद्यमान सुरक्षा संवेदनशीलतालाई संघीय सरकार र सिंहदरबारले जसरी हेर्नुपर्ने थियो, त्यो पर्याप्त देखिएन भन्ने हाम्रो निष्कर्ष छ । जनकपुर जस्तो प्रमुख शहर अहिले असुरक्षित देखिएको छ, पसल र बजारहरू बन्द छन्, चोक–चोकमा टायर बालेर विरोध भइरहेको छ । यो एक निर्वाचित जनप्रतिनिधिका लागि सुखद् परिस्थिति होइन ।’

सांसद झाले नेपाली समाजको ऐतिहासिक धार्मिक तथा सामाजिक सहिष्णुतालाई बिथोल्न खोज्ने प्रवृत्तिप्रति सचेत रहन सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?