काठमाडौं । गत आर्थिक वर्षमा सानिमा बैंकले आफ्नो नाफा बढाएको छ ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२–०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ३८ दशमलव १ प्रतिशतले नाफा बढाएको हो ।
यो अवधिमा बैंकले ३ अर्ब ५५ करोड नाफा कमाउन सफल भएको हो ।
अघिल्लो आर्थिक वर्षको कुरा गर्दा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको थियो । व्याज आम्दानीमा सुधार हुँदा बैंकको नाफा वृद्धि भएको हो ।
गत आर्थिक वर्षमा बैंकले झण्डै ७ अर्ब व्याज आम्दानी गरेको छ । यो अवधिमा बैंकले ६ अर्ब ९९ करोड व्याज आम्दानी गरेकोमा अघिल्लो वर्ष यसै अवधिमा यस्तो आम्दानी ६ अर्ब ३५ करोड रहेको थियो ।
बैंकको सञ्चालन नाफा ५ अर्ब १६ करोड, बैंकको खुद शुल्क तथा कमिसनबापत १ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
बैंकको कर्जा १ खर्ब ७६ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ९५ अर्ब पुग्दा कुल निक्षेप २ खर्ब २३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
गत आर्थिक वर्षमा बैंकको समग्र वित्तीय अवस्था राम्रो देखिएको र नाफामा वृद्धि भएसँगै बैंकको लाभांश वितरण गर्ने क्षमता पनि उल्लेख्य रूपमा बढेको देखिन्छ । बैंकको कुल वितरणयोग्य नाफा २ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । यस आधारमा प्रिफरेन्सियल शेयरधनीलाई दिएर बाँकी रहेको रकमबाट बैंकको प्रतिशेयर लाभांश क्षमता २०.८५ रुपैयाँ देखिएको छ, जुन अघिल्लो वर्ष १५.४८ रुपैयाँ मात्र रहेको थियो ।
गत आर्थिक वर्षमा बैंकको ऋण असुलीमा सुधार आएको देखिन्छ । यस अवधिमा बैंकको खराब कर्जा २ दशमलव ८७ प्रतिशतमा झरेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा ३ दशमलव ०१ प्रतिशत रहेको खराब कर्जा अहिले घटेको हो ।
त्यस्तै खुद निष्कृय एवं खराब कर्जा १ दशमलव ०२ प्रतिशत मात्र रहेको छ ।
अन्य बैंकहरुले गत वर्षको वित्तीय विवरण सार्वजनिक नगरेका बेला सानिमा बैंक वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।
यस अवधिमा बैंकको व्यवसायबाट हुने कुल सञ्चालन आम्दानी ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँ पुग्दा खर्चहरु कटाएर बैंकको मुख्य बैंकिङ व्यवसायबाट भएको नाफा ५ अर्ब १६ करोड ५१ लाख रुपैयाँ रहेको छ । त्यसो त करअघिको नाफा ५ अर्ब ३ करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १ अर्ब ४७ करोड रुपैयाँले बढि हो ।
बैंकका अनुसार यस अवधिमा बैंकले १ अर्ब ५३ करोड रुपैयाँ आयकरको व्यवस्था गरेको छ । यस अवधिमा बैंकको व्यवसाय विस्तारमा भने तिव्रता देखिएको छ । कुल निक्षेपको १० दशमलव ८४ प्रतिशतले वृद्धि भइ २४९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यसैगरी कर्जा प्रवाह १९ दशमलव १९ प्रतिशतले वृद्धि भइ २०३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
बैंकको सीडी रेसियो ८० दशमलव ७७ प्रतिशत रहँदा बैंकसँग कर्जा विस्तारका लागि पर्याप्त तरलता रहेको संकेत देखिन्छ ।
बैंकको वित्तीय विवरण अनुसार नाफा बढ्दा प्रतिशेयर आम्दानी अघिल्लो वर्षको १८ दशमलव ९४ रुपैयाँबाट बढेर २५ दशमलव ७५ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ १८८ दशमलव ४२ रुपैयाँ, इक्वीटीमा प्रतिफल १४ दशमलव ३९ प्रतिशत कायम भएको छ । त्यस्तै दोस्रो बजारमा अन्तिम कारोबार मूल्य ३५० रुपैयाँका आधारमा मूल्य आम्दानी अनुपात १३.५९ गुणा रहेको छ ।
यस अवधिमा प्रतिकुल आर्थिक वातावरणका बाबजुद सानिमा बैंकले आफ्नो व्यवसायीक वृद्धि, नाफा र सम्पत्तिको गुणस्तरमा सन्तुलन कायम गरेको छ । साथै गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा आफ्ना शेयर धनीहरुलाई आकर्षक प्रतिफल दिन सक्ने बलियो आधार खडा गरेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया