काठमाडौं । नेपालको यातायात पूर्वाधार विकासको इतिहासमा महत्त्वपूर्ण कोसेढुंगा पार गर्दै नागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ । ‘अपरेसन’ तथा ‘मेन्टिनेन्स’ परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि सोमबार आयोजित समारोहबीच सुरुङमार्ग उद्घाटन गरिएको हो । यससँगै नेपाली नागरिकको आधुनिक सुरुङमार्गबाट यात्रा गर्ने दशकौँदेखिको सपना साकार भएको छ ।
नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा रहेको यस आयोजनाको सञ्चालनले मुलुकलाई औपचारिक रूपमा सुरुङमार्ग युगमा प्रवेश गराएको छ । यातायात व्यवसायी तथा पूर्वाधार विज्ञहरूले यसलाई नेपाली सडक यातायात क्षेत्रको ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सुरुङमार्ग उद्घाटनप्रति खुसी व्यक्त गर्दै सरकारले देशभर निर्माणाधीन अन्य सुरुङमार्गलाई पनि द्रुत गतिमा अघि बढाउनुपर्ने बताए । उनका अनुसार सुरुङमार्ग सञ्चालनमा आएपछि यात्राको समय बचत हुनुका साथै नागढुंगाको जोखिमपूर्ण सडक खण्डमा हुने सम्भावित दुर्घटनासमेत घट्ने अपेक्षा गरिएको छ ।
यद्यपि, सुरुङमार्ग प्रयोग गर्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनका लागि तोकिएको शुल्कप्रति उनले असन्तुष्टि जनाए । उनले शुल्क पुनरावलोकन गर्दै सार्वजनिक यातायात र सुरुङ सञ्चालन दुवैलाई असर नपर्ने गरी व्यावहारिक शुल्क निर्धारण गर्न सरकारसँग आग्रह गरे ।
उनले भने, ‘सुरुङमार्ग सञ्चालनका लागि शुल्क आवश्यक भए पनि अत्यधिक महँगो हुनु हुँदैन । सञ्चालन खर्च र सार्वजनिक यातायात व्यवसाय दुवैलाई सन्तुलन हुने गरी शुल्क निर्धारण गरिनुपर्छ ।’
सडक विभागका महानिर्देशक डा.विजय जैसीका अनुसार सुरुङमार्ग हाल केही दिन ‘ट्रायल’ चरणमा रहनेछ । अन्तिम प्राविधिक परीक्षण (मक ड्रिल) सम्पन्न भएपछि सबै प्रकारका अनुमति प्राप्त चारपांग्रे सवारीका लागि सुरुङमार्ग सञ्चालन गरिने उनले जानकारी दिए। पूर्ण रूपमा सञ्चालनमा नआएसम्म कुनै शुल्क नलिइने पनि उनले स्पष्ट पारे ।
उनका अनुसार सुरुङमार्गको डिजाइन आयु १०० वर्षको रहेको छ । ‘सही ढंगले सञ्चालन र मर्मतसम्भार गर्न सकियो भने सुरुङमार्गले आफ्नो डिजाइन आयुसम्म सेवा दिनेछ,‘उनले भने ।
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालको भौगोलिक जटिलताका कारण सुरक्षित र छिटो यात्राका लागि सुरुङमार्ग अपरिहार्य बन्दै गएको बताए । उनका अनुसार चालु आर्थिक वर्षभित्रै सिद्धबाबा सुरुङमार्ग सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ भने काठमाडौं–तराई फास्ट ट्र्याकसहित अन्य ६ वटा सुरुङमार्ग निर्माण कार्य पनि तीव्र गतिमा अघि बढिरहेको छ ।
सचिव सिग्देलले सुरुङ सञ्चालनको लागत तुलनात्मक रूपमा बढी हुने बताए । सुरुङभित्र सुरक्षा, निगरानी, हावाको गुणस्तर व्यवस्थापन तथा आकस्मिक उद्धार सेवाका लागि २४ सै घण्टा प्राविधिक जनशक्ति आवश्यक पर्ने भएकाले सञ्चालन खर्च बढी हुने उनको भनाइ छ । भविष्यमा धेरै सुरुङमार्ग सञ्चालनमा आएपछि एकीकृत व्यवस्थापन प्रणालीमार्फत लागत घटाउन सकिने उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया