रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले विभिन्न पदमा करार सेवाका लागि कर्मचारी माग गरेको छ । अस्पतालले स्वास्थ्य तथा प्रशासनिक सेवातर्फका रिक्त पदहरू खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न आवेदन आह्वान गरेको हो ।
अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, कम्प्युटर अपरेटर र अ.हे.ब पदमा कर्मचारी नियुक्त गरिनेछ ।
लुम्बिनी प्रदेश सरकारको करार कर्मचारी व्यवस्थापन कार्यविधि, २०८० (पछिल्लो संशोधन) अनुसार चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मका लागि सेवा करारमा कर्मचारी पदपूर्ति गर्न लागिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार जनशक्ति अभाव र कर्मचारी छाड्ने क्रम बढेपछि तत्काल सेवा सञ्चालनका लागि करिब ५०० रिक्त स्थानमा करार कर्मचारी आवश्यक परेको हो । छनोट प्रक्रियापछि योग्यता क्रमका आधारमा रोस्टर सूची तयार गरिने र आवश्यकताअनुसार सोही सूचीबाट कर्मचारी नियुक्त गरिने जनाइएको छ ।
मेडिकल अधिकृत पदका लागि अधिकतम ६० जना, स्टाफ नर्सका लागि १०० जना र ल्याब टेक्निसियनका लागि १० जनाको योग्यता क्रम सूची तयार गरिने अस्पतालले जनाएको छ । रिक्त पदमा स्थायी कर्मचारी नियुक्त भएमा करार सेवा स्वतः समाप्त हुने व्यवस्था रहेको छ ।
इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक शैक्षिक प्रमाणपत्र, तोकिएका कागजात र राजस्व तिरेको बैंक भौचरररसिदसहित आवेदन दिनुपर्नेछ। रीत नपुगेका आवेदनमाथि कुनै कारबाही नगरिने अस्पतालले जनाएको छ ।
दरखास्त फाराम लुम्बिनी प्रादेशिक अस्पतालको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ । थप जानकारीका लागि अस्पतालको सूचना पाटी वा वेबसाइट हेर्न सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया