काठमाडौं । सुनसरीमा भएको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारीसहित प्रदेश र जिल्ला मातहतका सुरक्षा निकायका प्रमुखहरुको जिम्मेवारी खोसिएको छ ।
आइतबार राति भएको दुई पक्षीय तनावपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेलाई फिर्ता बोलाइएको छ । उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ ।
गएराति सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज भन्ने स्थानमा दुई समुदायबिच झडपको स्थिति सिर्जना भएको थियो । उक्त घटनापछि प्रमुख जिल्ला अधिकारीसहित प्रदेश प्रहरी प्रमुखसम्मको जिम्मेवारी अदलीबदली गरिएको हो ।
गृहमन्त्रालयका अनुसार कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ । थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय गरेको छ । साथै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया