अष्ट्रेलियाबाट फर्किएकी प्रतिमा खड्का, मानसिक स्वास्थ्य बनाइन् मिस नेपालको एजेन्डा

लोकपथ
0
Shares

काठमाडौं- मिस नेपाल २०२६ की प्रतियोगी नम्बर १४ प्रतिमा खड्काले नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी शिक्षालाई विद्यालय तहदेखि नै प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएकी छन् । अष्ट्रेलियामा सामाजिक कार्य र सामुदायिक विकासको अध्ययन तथा अनुभव हासिल गरेकी उनले मानसिक स्वास्थ्यको उपचार मात्र नभई मानसिक कल्याणसम्बन्धी शिक्षा पनि हरेक बालबालिका, युवा र वयस्कका लागि आवश्यक रहेको बताएकी हुन् ।

सिन्धुपाल्चोककी २६ वर्षीया प्रतिमाले अष्ट्रेलियाको युनिभर्सिटी अफ वेस्टर्न सिड्नीबाट सोसल वर्कमा स्नातकोत्तर तथा कम्युनिटी सर्विसेजमा स्नातक अध्ययन गरेकी छन् । बहुसांस्कृतिक समुदायसँग काम गर्ने क्रममा उनले समुदाय विकास, सामाजिक समावेशिता, मानसिक स्वास्थ्य प्रवर्द्धन र नेतृत्व विकासका क्षेत्रमा अनुभव हासिल गरेकी छन् ।

उनका अनुसार नेपालमा विद्यालयहरूले भाषा, गणित, विज्ञान र अन्य विषय पढाए पनि भावना व्यवस्थापन, तनाव नियन्त्रण, मानसिक सन्तुलन र जीवनका चुनौतीसँग सामना गर्ने सीपलाई पर्याप्त प्राथमिकता दिइएको छैन । ‘हामी विद्यालयमा धेरै विषय सिक्छौं, तर आफ्नै मन र भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने शिक्षा पाउँदैनौं,’ प्रतिमाले भनेकी छन् । उनका अनुसार भावनात्मक दृढता (इमोशनल रिजिलियन्स) जीवन सफल बनाउन आवश्यक आधारभूत सीप हो ।मिस नेपाल २०२६ को प्रतियोगितालाई उनले केवल सौन्दर्य प्रतियोगिता नभई समाजमा सकारात्मक परिवर्तन ल्याउने राष्ट्रिय मञ्चका रूपमा लिएकी छन् । मानसिक स्वास्थ्यप्रति समाजमा रहेको संकोच हटाउँदै मानसिक शान्ति, आत्म-जागरूकता र भावनात्मक सन्तुलनलाई जीवनशैलीको महत्वपूर्ण पक्षका रूपमा स्थापित गर्ने उनको लक्ष्य छ ।

प्रतिमाले नेपालसँग ध्यान, योग, सचेत श्वासप्रश्वास, माइन्डफुलनेस र करुणाजस्ता विश्वले खोजिरहेका परम्परागत ज्ञान रहेको उल्लेख गर्दै ती अभ्यासलाई आधुनिक विज्ञानसँग जोडेर विश्वसामु प्रस्तुत गर्न सकिने विश्वास व्यक्त गरेकी छन् ।

विदेशमा हासिल गरेको ज्ञान र अनुभवलाई नेपालकै समुदाय विकास तथा सामाजिक परिवर्तनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले विदेशी अवधारणाको नक्कलभन्दा नेपालको मौलिकता र अन्तर्राष्ट्रिय अभ्यासबीचको सन्तुलन आवश्यक रहेको बताइन् ।

सन् २०१६ देखि आर्ट अफ लिभिङ फाउन्डेसनमा स्वयंसेवकका रूपमा सक्रिय प्रतिमा हाल दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सचिवको जिम्मेवारीमा पनि छिन् । उनले स्वयंसेवा, ध्यान र सचेत जीवनशैलीले व्यक्तिको मानसिक तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने अनुभव आफूले प्रत्यक्ष रूपमा प्राप्त गरेको बताएकी छन् ।

मानसिक स्वास्थ्यसँगै वातावरण संरक्षणलाई पनि आफ्नो प्राथमिकतामा राखेकी प्रतिमाले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न प्रकृति संरक्षण र मानव स्वास्थ्यलाई सँगसँगै अघि बढाउनुपर्ने धारणा व्यक्त गरेकी छन् ।

उनको दीर्घकालीन लक्ष्य नेपाललाई केवल प्राकृतिक सौन्दर्य र सगरमाथाको देशका रूपमा मात्र नभई मानसिक कल्याण, करुणा, सचेत जीवनशैली र प्राचीन ज्ञानको विश्व केन्द्रका रूपमा चिनाउनु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?