काठमाडौं । अहिले सामाजिक सञ्जालमा बाल गायक अशोक दर्जीमाथि कुटपिट भएको एउटा भिडियो भाइरल भइरहेको छ ।
कुनै समय नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निकै चर्चित भएका अशोक दर्जी अहिले गायब जस्तै छन् ।
सडकमा गीत गाउँदागाउँदै रातारात भाइरल भएका अशोक दर्जीको प्रतिभामाथि ताली बजाउनेहरुको लर्को थियो । तर समय सधैं एकनास रहेन । चर्चा सेलाउँदै गयो, क्यामराका लेन्सहरू अन्तै मोडिए ।
अशोक दर्जीले आफूमाथि हातपात गरी चरित्रहत्या गर्ने नियतले सामाजिक सञ्जालमा भिडियो फैलाइएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
झापाको दमक नगरपालिका–१ घर भएका १६ वर्षीय गायक दर्जीले इलाका प्रहरी कार्यालय अनारमनी (बिर्तामोड) मा निवेदन दिँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् ।
दर्जीले दिएको निवेदन अनुसार, करिब एक महिनाअघि अनारमनीस्थित माता मन्दिर छेउ बस्ने आफ्ना मावली हजुरआमा, आमा तथा परिवारका सदस्यलाई भेट्न उनी बिर्तामोड पुगेका थिए । सोही क्रममा साथीसँग महानन्द चोक गेट छेउमा नास्ता खाइरहेका बेला स्थानीय ‘काजी दाइ’ सिटी सफारी लिएर आएका र आफूलाई सँगै जान भनेका थिए ।
त्यसपछि ‘ओकिल’ नाम गरेका व्यक्तिले काजी दाइसँग १ हजार रुपैयाँ लिएर भित्री गल्लीमा गएको र पछि आफू स्कुटीमा काजी दाइसँग घर फर्किएको निवेदनमा उल्लेख छ ।
तर, उक्त घटनाको एक सातापछि बिर्तामोडको देवीबस्ती क्षेत्रस्थित पेट्रोल पम्पमा स्कुटीमा तेल हाल्दै गर्दा ओकिल, साङ्गे प्रधान र शान्तिनगर बस्ने फुच्चे भन्ने ३ जना मिलेर आफूलाई घेरी ‘चोर’ भन्दै हातपात गरेको दर्जीले बताएका छन् । उनीहरुले ‘हजार रुपैयाँ चोर्यो’ भन्दै हुलमुल गरी भिडियो खिचेका र उक्त भिडियो सामाजिक सञ्जालमा हालेर आफ्नो भविष्यमाथि खेलबाड गरेको दर्जीको आरोप छ ।
भिडियो सामाजिक सञ्जालबाट हटाइदिन आग्रह गर्दासमेत उल्टै धम्क्याउने काम भएको भन्दै दर्जीले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न र आफूलाई न्याय दिलाउन प्रहरी प्रशासनसँग माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया