दालमोठ र पफ उद्योगमा अनुगमन, कैफियत भेटिएपछि कारबाही !

लोकपथ
98
Shares

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा रहेको नाग्लो बेकरीज प्रालिसहित ३ खाद्य उद्योग कारबाहीमा परेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा कैफियत देखिएपछि ती व्यवसायहरुलाई कारबाही गरिएको हो ।

विभागका प्रवक्ता एवं वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार ललितपुरको ललितपुर महानगरपालिका–१६ मा रहेको गुड लाइफ फूड प्रोडक्ट प्रालिलाई कारबाही गरिएको छ ।

कुकिज तथा विस्कुटको गुणस्तर राम्रो नभएको भन्ने उजुरीका आधारमा विभागको टोलीले स्थलगत अनुगमन गर्दा कीट नियन्त्रणको अवस्था सन्तोजनक नभएको, कर्मचारीको व्यक्तिगत सरफाइ राम्रो नभएको पाइएको हो । त्यति मात्र होइन झ्याल ढोकामा जालीको व्यवस्था नभएको, भुँइ भित्ता तथा सिलिङ्गको सरसफाइ राम्रो नरहेको तर उद्योगको निरीक्षण गर्दा सरसफाइको अवस्था सन्तोषजनक पाइएको समेत विभागले जनाएको छ ।

विभागले उक्त उद्योगलाई कैफियत सुधारपश्चात मात्र उद्योगबाट उत्पादन गर्न निर्देशन दिएको, कैफियत विवरण सुधार पश्चात ७ दिनभित्र विभागमा उपस्थित हुन र थप अनुसन्धान गरी प्रयोगशाला परीक्षण गर्न तथा खाद्य स्वच्छता कायम राख्नका लागि निर्देशन समेत दिइएको छ ।

जनगुनासोका आधारमा ललितपुरको गोदावरीस्थित ठैबमा रहेको नाग्लो बेकरीजलाई आवश्यक निर्देशन दिइएको छ ।

उक्त उद्योगबाट उत्पादित स्पेशल नाग्लो पफको चिल्लो पदार्थको गुणस्तर सम्बन्धी गुनासोका आधारमा अनुगमन गर्दा उद्योगले प्रयोग गर्ने तेल तथा बनस्पती घ्यूको परीक्षण गर्दा सरकारले तोकेको मापदण्ड अनुसार नै पाइएको छ । कच्चा पदार्थहरु आधिकारिक स्रोतबाट नै खरिद गरेको पाइएको, उद्योगको प्रशोधन तथा प्याकेजिङ कक्ष र भण्डारण कक्षमा पेष्टको संक्रमण नपाइएको विभागले जनाएको छ । भण्डारणको अवस्था सन्तोषजनक रहे पनि थप अनुसन्धान गरी प्रयोगशाला परीक्षण गर्नका लागि उद्योगबाट उत्पादित पफको नमुना संकलन गरिएको र खाद्य स्वच्छता कायम राख्न निर्देशन दिइएको छ ।

विभागले ललितपुरको गोदावरी नगरपालिका–१ मा रहेको दक्षिणकाली दालमोठ उद्योगमा समेत अनुगमन गरेको थियो । उक्त उद्योगले उत्पादन गर्दै आएको काठमाडौं ब्राण्डको दालमोठमा बाह्य खाद्य पदार्थ भेटिएको भन्दै परेको उजुरीका आधारमा अनुगमन गर्दा उद्योगको सरसफाइ तथा पेष्ट कन्ट्रोलको व्यवस्था सन्तोषजनक रहेको पाइएको छ । यसैगरी उद्याचेगको प्रशोभन तथा प्याकेजिङ कक्ष र भण्डारण कक्षको पेष्टको संक्रमण नपाइएको, भण्डारणको अवस्था सन्तोषजनक रहेको विभागले जनाएको छ ।

जनगुनासो अनुसार तयारी अवस्थाको दालमोठ तथा भण्डारण गरिएको केही दालमोठ खोलेर हेर्दा आँखाले देखिने केही पनि बाह्य पदार्थ नभेटिएको तर त्यहाँबाट निकाशी हुने वस्तुहरुको अवस्था राम्रो नदेखिएको विभागले जनाएको छ ।

विभागले निकाशीको अवस्था सुधार गर्न, झ्याल ढोकामा जालीको व्यवस्था गर्न तथा खाद्य स्वच्छताको मापदण्ड पालना गर्न आवश्यक निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?