देउवाको स्वास्थ्य अवस्था ठिकठाक, सचिवालयले भन्यो– ‘हात भाँचिएको खबर असत्य’

लोकपथ
105
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्था ठिकठाक रहेको उनको सचिवालयले जनाएको छ ।

उपचारका क्रममा सिंगापुर हुँदै हङकङ पुगेका देउवाको लडेर हात भाँचिएको भन्दै समाचार बाहिरिएपछि सचिवालयले स्पष्ट पारेको हो ।

‘हात भाँचिएको’ भन्दै बाहिरिएको खबर पूर्ण रुपमा असत्य रहेको देउवाको सचिवालयले जनाएको छ ।

‘पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा “आदरणीय पूर्वप्रधानमन्त्रीज्यू लडेर हात भाँचिएको छ” भन्ने आशयका अपुष्ट, आधारहीन तथा भ्रामक समाचारहरू फैलाइएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ देउवाको सचिवालयले भनेको छ, ‘उक्त समाचार पूर्ण रूपमा असत्य र निराधार रहेको स्पष्ट पार्न चाहन्छौं। सम्बन्धित व्यक्तित्व न त लड्नुभएको छ, न त उहाँको हात भाँचिएको छ। कुनै पनि आधिकारिक पुष्टि बिना यस्ता हल्ला फैलाउनु गैरजिम्मेवार कार्य हुनुका साथै समाजमा भ्रम सिर्जना गर्ने प्रयास हो ।’

यसैगरी मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर भएर समाचार संप्रेषण गर्नुअघि आधिकारिक स्रोतबाट सत्यता पुष्टि गर्न समेत आग्रह गरिएको छ ।

‘सम्पूर्ण सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणमा कुनै पनि सूचना वा समाचार साझा गर्नु अघि त्यसको सत्यता आधिकारिक स्रोतबाट पुष्टि गर्न हार्दिक अनुरोध गर्दछौं। तथ्यमा आधारित, जिम्मेवार र विश्वसनीय सूचना प्रवाह गरौं, अफवाह र भ्रम फैलाउने कार्यबाट टाढा रहौँ,’ सचिवालयले भनेको छ ।

जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा उपचारका लागि फागुनको दोस्रो साता सिंगापुर पुगेका थिए । त्यहाँबाट हङकङ पुगेका देउवाको हिँडडुल गरेको तस्बिर र भिडियोहरु मात्रै सार्वजनिक भइरहेका छन् । तर दम्पतीसहित हङकङमा रहेका देउवा कहिले नेपाल आउँछन् भन्ने कुनै खुलाइएको छैन । देउवामाथि लाग्ने गरेका विभिन्न आरोपबारे आफ्नो सामाजिक सञ्जालमार्फत् बेलाबेला खण्डन गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?