काठमाडौं । साउन महिनामा भगवान् पशुपतिनाथको दर्शन तथा पूजाआराधनाका लागि आउने लाखौँ भक्तजनलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले शनिबारदेखि अभियान सञ्चालन गर्दै पहिलो दिन पशुपतिनाथ मूल मन्दिरदेखि सूर्यघाटसम्म सरसफाइ गरेको जनाएको छ ।
साउन महिनामा विशेषगरी सोमबार भक्तजनको अत्यधिक भीड हुने भएकाले सफा, व्यवस्थित र सुरक्षित वातावरण सुनिश्चित गर्न अभियान सुरु गरिएको हो ।
कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठका अनुसार आइतबार मूल मन्दिर बन्द भएपछि सूक्ष्म रूपमा सरसफाइ गरिनेछ र यसमा सुरक्षा निकायको समेत सहभागिता रहनेछ ।
पहिलो दिनको अभियानमा एक दर्जनभन्दा बढी संघ–संस्थाको सहभागिता रहेको थियो । कोषले प्रत्येक शनिबार नियमित सरसफाइ गर्ने तथा साउनभर आवश्यकताअनुसार आइतबार र अन्य दिनमा पनि विशेष सफाइ अभियान सञ्चालन गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया