काठमाडौं । खाद्यवस्तुमा कैफियत देखिएपछि काठमाडौंका विभिन्न स्थानमा रहेका दुई होटलमाथि कारबाही गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरको संयुक्त अनुगमनका क्रममा दुई होटलमाथि कारबाही गरिएको हो ।
विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीस्थित लुम्बिनी हस्पिटालिटी र काठमाडौं महानगरपालिका– २६ ठमेलमा रहेका लाभेरा पिजालाई कारबाही गरिएको हो ।
अनुगमनका क्रममा लुम्बिनी हस्पिटालिटीमा सरसफाइको अवस्था सामान्य रहेको, कृतिम खाद्य रंगको प्रयोग, समोसालाई मसीजन्य पत्रिकामा राखेर भण्डारण गरेको, प्रयोग गर्ने तेल मापदण्ड विपरित रहेको, भान्सामा फोहोरदानी खुला अवस्थामा राखेको र कर्मचारीहरुको व्यक्तिगत सरसफाइ सामान्य अवस्थामा रहेको लगायतका कैफियत भेटिएको थियो ।
लुम्बिनी हस्पिटालिटीलाई देखिएका कैफियत सुधार गरी तीन दिनभित्र काठमाडौं महानगरपालिकामा स्पष्टीकरणसहित उपस्थित हुन भनिएको छ ।
यसैगरी ठमेलमा रहेको लाभेरा पिजाबारे परेको गुनासोका आधारमा विभाग र काठमाडौं महानगरको टोली अनुगमनका लागि पुगेको थियो । सो क्रममा लाभेरा पिजामा सरसफाइको अवस्था सामान्य रहेको, किट नियन्त्रणको व्यवस्था नरहेको, भान्सामा फोहोरदानी नछोपी खुला रुपमा राखिएको, फ्रिजमा भण्डारण गरिएको बटर र चिजमा लेबल विवरण नभएको लगायतका कैफियत भेटिएको थियो ।
विभागले उपभोग्य मिति समाप्त भएको २ दिन बोत्तल एक्स्ट्रा भर्जिन ओलाइभ ओएल २ लिटर नष्ट गरिएको र क्रिमुज स्टबेरी टपिङ १ केजी भन्दा बढी नष्ट गरिएको विभागले जनाएको छ ।
यसैगरी किट नियन्त्रणको लागि व्यवस्था मिलाउने र फोहोरदानीलाई छोपेर राख्ने, लेबल भएको खाद्य पदार्थ प्रयोग गर्न व्यवस्था मिलाउन र फिफो सिस्टम लागू गर्न निर्देशन दिइएको विभागकी प्रवक्ता शर्माले बताइन् ।
त्यसो त विभागले उपभोक्ताको गुनासोका आधारमा विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा अनुगमन र आवश्यक कारबाही गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया