काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिहीबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा सभामुख अर्यालले नेपाल–भारत सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीलगायत क्षेत्रमा रहेका द्विपक्षीय संयन्त्रमार्फत सम्बन्ध अझ सुदृढ बन्दै गएको बताए ।
उनले उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गर्दै नागरिक उड्डयन, रेल तथा बस सेवामार्फत कनेक्टिभिटी विस्तारले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। साथै भविष्यमा थप उडान, रेल तथा बस रुट विस्तार हुने अपेक्षा पनि उनले व्यक्त गरे ।
सभामुख अर्यालले भारतको लोकसभाका सभामुख ओम बिरलालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै दुवै पक्षका लागि उपयुक्त समयमा उनलाई नेपालमा स्वागत गर्न नेपाल तयार रहेको बताए ।
भेटका क्रममा उनले हालै सम्पन्न निर्वाचनका अवसरमा भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार पनि व्यक्त गरेका थिए ।
यस्तै, भारतीय राजदूत श्रीवास्तवले लोकसभाका सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी गराउँदै नेपालका सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन तथा अवलोकनका लागि भारत भ्रमणको निमन्त्रणा दिए ।
राजदूत श्रीवास्तवले संसदीय कूटनीति र उच्चस्तरीय राजनीतिक संवादले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारमा भारत सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया