काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको विधानमा रहेको नेतालाई हटाउन सकिने व्यवस्थालाई प्रधानमन्त्री बालेन्द्र साहलाई लक्षित गरिएको भन्दै गरिएको व्याख्या गलत भएको बताएका छन् ।
बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले संसदीय दलको नेतालाई हटाउन सकिने प्रावधानलाई गलत नियतका साथ प्रधानमन्त्रीलाई हटाउने तयारीका रूपमा प्रस्तुत गरिएको भन्दै असन्तुष्टि जनाए ।
उनले उक्त व्यवस्था संसदीय दलको नेता मात्रै नभई अन्य पदाधिकारीहरूमा पनि समान रूपमा लागू हुने स्पष्ट पारे ।
उनका अनुसार विधानमा पार्टी सभापति, संसदीय दलका उपनेतालगायत सबै पदाधिकारीको पद अन्त्य हुने अवस्था र प्रक्रिया उल्लेख गरिएको छ । तर संसदीय दलको नेतासम्बन्धी व्यवस्था मात्रै उठाएर अपव्याख्या गरिएको उनको आरोप छ ।
पराजुलीले विधान कुनै व्यक्ति वा पदलाई लक्षित गरेर नभई पार्टीलाई दीर्घकालीन रूपमा प्रभावकारी ढंगले सञ्चालन गर्ने उद्देश्यले तयार गरिने भएकाले त्यसैअनुसार बुझ्नुपर्ने धारणा राखे।
उनले भने, ‘विधानमा संसदीय दलको नेताको पद अन्त्य कसरी हुन्छ भन्ने व्यवस्था गरिएको छ । त्यस्तै उपनेता र सभापतिको पद अन्त्य हुने अवस्थासमेत उल्लेख गरिएको छ । तर संसदीय दलको नेतासम्बन्धी व्यवस्था मात्रै उठाएर गलत आशयका साथ व्याख्या गरिएको छ ।’
उनले अन्य राजनीतिक दलहरूको संसदीय दलको विधानमा पनि दलको नेतालाई हटाउने व्यवस्था रहने भएकाले त्यसलाई अस्वाभाविक रूपमा लिन नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया