दृष्टिविहीनलाई सडकबाट हटाउने होइन, रोजगारी दिनुहोस् : हर्क साम्पाङ

लोकपथ
35
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले दृष्टिविहीन नागरिकलाई तत्काल रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सडकपेटीमा बसेर गुजारा गर्दै आएका दृष्टिविहीन नागरिकलाई हटाउने मात्र होइन, उनीहरूको जीविकोपार्जनको विकल्प सुनिश्चित गर्न सरकार जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

दृष्टिविहीन नागरिकहरूले रोजगारीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा दुई साताभन्दा बढी समयदेखि धर्नासहित आन्दोलन गरिरहे पनि सरकारले उनीहरूको मागप्रति गम्भीरता नदेखाएको भन्दै राईले असन्तुष्टि जनाए ।

उनले दृष्टिविहीन नागरिकहरूले भत्ता नभई आफूहरूले गर्न सक्ने कामको अवसर मागिरहेको उल्लेख गर्दै सरकारले फोन रिसिभ गर्ने, कार्यालयमा बसेर गर्न सकिने लगायतका उपयुक्त रोजगारी उपलब्ध गराउनुपर्ने बताए ।

राईले सरकारले सडकमा गीत गाएर जीविका चलाउने वातावरण पनि नदिने र रोजगारीको विकल्प पनि नदिने अवस्था उचित नभएको टिप्पणी गरे । उनले एकैपटक सबैलाई रोजगारी दिन नसकिए पनि चरणबद्ध रूपमा सुरुआत गर्न सरकारलाई आग्रह गरे ।

‘यो महिनाबाटै १०-१५ जनालाई रोजगारी दिन थाले पनि हुन्छ,’ उनले भने ।

त्यसैगरी, अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको भनिएको ‘राष्ट्रघाती अभिव्यक्ति’ सच्याउन सभामुख डोलप्रसाद अर्यालले रुलिङ गर्नुपर्ने माग पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?