गैरआवासीय नेपाली नागरिकता व्यवहारिक प्रयोगमा ल्याउने सरकारको तयारी

लोकपथ
7
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवासीय नेपाली (एनआरएन) ले लिएको नागरिकतालाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउन सरकारले आवश्यक काम गरिरहेको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभामा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले संविधान र कानुनअनुसार धेरै गैरआवासीय नेपालीले नागरिकता लिइसके पनि त्यसको व्यवहारिक प्रयोग हुन नसकेको बताए ।

उनले संविधानले दक्षिण एसियाबाहिर रहेका तीन पुस्ताभित्रका नेपाली मूलका व्यक्तिलाई राजनीतिक अधिकारबाहेक सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारसहित गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेको स्मरण गराउँदै सोहीअनुसार नागरिकता वितरण भइरहेको जानकारी दिए ।

मन्त्री खनालका अनुसार नागरिकताको परिचयपत्र प्राप्त भए पनि त्यसले व्यवहारिक रूपमा अपेक्षित सुविधा र अधिकारको उपयोग सुनिश्चित गर्न नसकेको अवस्था छ । त्यसैले संविधान र कानुनले दिएको अधिकारलाई कार्यान्वयन गर्दै गैरआवासीय नेपाली नागरिकतालाई प्रभावकारी रूपमा प्रयोगमा ल्याउन परराष्ट्र मन्त्रालय गम्भीरतापूर्वक लागिपरेको उनले बताए ।

उनले गैरआवासीय नेपाली नागरिकताको व्यवहारिक कार्यान्वयनमा ढिलाइ भएको स्वीकार गर्दै अब त्यसलाई प्रभावकारी रूपमा लागू गर्ने दिशामा सरकार अघि बढिरहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?