काठमाडौं उपत्यकामा अझै बर्डफ्लुको जोखिम, चार जिल्ला निगरानीमा

लोकपथ
63
Shares

काठमाडौं । पूर्वी नेपालको झापाबाट सुरु भएको बर्डफ्लु चितवन हुँदै काठमाडौं उपत्यकासम्म फैलिएको छ । अहिले धेरै जिल्लामा संक्रमण नियन्त्रणमा आए पनि काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा अझै जोखिम रहेकाले निगरानी जारी राखिएको छ ।

पशु सेवा विभागका निर्देशक डा.उमेश दाहालका अनुसार हाल सात जिल्लामा संक्रमण नियन्त्रणमा आइसकेको छ । तर उपत्यकाका केही क्षेत्रमा अझै नयाँ संक्रमण देखिने क्रम रोकिएको छैन ।

उनका अनुसार काठमाडौंको चन्द्रागिरि, तारकेश्वर र कीर्तिपुर, ललितपुरको गोदावरी, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाका केही स्थानमा पछिल्ला दिनमा पनि बर्डफ्लु देखिएको छ ।

डा.दाहालले खुला ठाउँ, धेरै चराचुरुंगी आउने क्षेत्र र राम्रो व्यवस्थापन नभएका कुखुरापालन फार्ममा संक्रमण बढी देखिएको बताए ।

उनका अनुसार बर्डफ्लुको प्रभावकारी औषधि वा खोप छैन । त्यसैले संक्रमण देखिएका फार्मका कुखुरा नष्ट गरेर मात्रै रोग फैलिनबाट रोक्न सकिन्छ ।

रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाएको थियो । संक्रमण पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको छ। लेयर्स (अन्डा उत्पादन गर्ने) र स्थानीय जातका कुखुरा बढी प्रभावित भएको विभागले जनाएको छ ।

विभागका अनुसार फार्ममा जैविक सुरक्षा मापदण्ड पालना नगर्नु, जंगली चराचुरुंगी फार्ममा आउन सक्ने वातावरण हुनु, सिमसार क्षेत्र नजिक पोल्ट्री फार्म सञ्चालन गर्नु, बाहिरी मानिस र सवारीसाधनको अनियन्त्रित प्रवेश तथा सरसफाइमा लापरबाही गर्नु संक्रमण फैलिनुका मुख्य कारण हुन् ।

त्यसैगरी अन्डा राख्ने क्रेट राम्रोसँग सफा नगरी फेरि प्रयोग गर्नु र जीवित पन्छी तथा मासु व्यवस्थापनमा पर्याप्त सावधानी नअपनाउनु पनि संक्रमण बढ्नुका कारण बनेका छन् ।

विभागका अनुसार काठमाडौं उपत्यकाबाहिर देखिएको बर्डफ्लु नियन्त्रण गर्न करिब एक महिना लागेको थियो भने उपत्यकामा पनि जोखिम पूर्ण रूपमा हटिनसकेकोले निगरानी जारी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?