इन्टर्न चिकित्सकको श्रम शोषण अन्त्य गर्न राप्रपाको माग

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले चिकित्सा शिक्षण संस्थामा अध्ययनरत एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले न्यून पारिश्रमिक र श्रम शोषण भोग्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ओलीले इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरिन् । उनले विशेषगरी सरकारी मेडिकल कलेजको तुलनामा निजी मेडिकल कलेजमा अध्ययनरत इन्टर्न चिकित्सकहरूले निकै कम भत्तामा अत्यधिक समय काम गर्नुपर्ने अवस्था रहेको बताइन् ।

उनले नीतिगत कमजोरी र विद्यमान व्यवस्थाका कारण इन्टर्न चिकित्सकहरूको श्रम निरन्तर शोषण भइरहेको र त्यसको प्रत्यक्ष असर दक्ष चिकित्सकहरूको विदेश पलायनमा देखिएको उल्लेख गरिन् । समयमै समस्या समाधान नभए निकट भविष्यमा नेपालले चिकित्सक तथा स्वास्थ्यकर्मीको गम्भीर अभाव झेल्नुपर्ने जोखिम रहेको उनको भनाइ थियो ।

ओलीका अनुसार विभिन्न कार्यदलले इन्टर्न चिकित्सकलाई आठौँ तहको प्रारम्भिक तलब स्केलको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउन सिफारिस गर्दै प्रतिवेदन चिकित्सा शिक्षा आयोगमा बुझाइसकेको करिब ९० दिन बितिसक्दा पनि कार्यान्वयन प्रक्रिया अघि बढाइएको छैन ।

उनले नेपालको श्रम ऐन, २०७४ ले तोकेको कार्यघण्टा र न्यूनतम पारिश्रमिकको व्यवस्था इन्टर्न चिकित्सकको हकमा प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै समान कामका लागि समान पारिश्रमिक र मर्यादित कार्यघण्टा सुनिश्चित गर्न सरकारसँग माग गरिन् ।

सांसद ओलीले सरकारबाट पटक–पटक आश्वासन प्राप्त भए पनि ठोस पहल नभएकाले इन्टर्न चिकित्सकहरूले आउँदो शनिबारदेखि संगठनात्मक रूपमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको जानकारी पनि सदनलाई गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?