काठमाडौं । पूर्वगभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र आर्थिक आधारभूत अवस्था सबल रहेकाले आगामी मौद्रिक नीति लचिलो (एकोमोडेटिभ) हुने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा आगामी मौद्रिक नीतिबारे भएको छलफलमा उनले वर्तमान आर्थिक सूचकहरूका आधारमा मौद्रिक नीति थप कसिलो बनाउने आवश्यकता नरहेको बताएका हुन् ।
उनले मूल्य स्थिरता, मुद्रास्फीति नियन्त्रण र बाह्य क्षेत्रको अवस्था सन्तोषजनक रहेकाले राष्ट्र बैंकले बैंक दर, नीतिगत दर वा ब्याजदर करिडोरलाई थप कडा बनाउनु नपर्ने बताए ।
अधिकारीले मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमानयोग्य विषय भएको उल्लेख गर्दै यसको कार्यदिशा देशको समग्र आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले निर्धारण गर्ने बताए । उनका अनुसार अहिलेको आर्थिक अवस्थाले लचिलो मौद्रिक नीतिकै संकेत गरेको छ ।
उनले राष्ट्र बैंकमा रहेका प्राविधिक जनशक्तिले विस्तृत विश्लेषण र लामो छलफलपछि मात्रै मौद्रिक नीति तयार गर्ने भएकाले निर्णयहरू तथ्य र आर्थिक अवस्थामै आधारित हुने बताए ।
पूर्वगभर्नर अधिकारीले आर्थिक सुधार तथा आन्तरिक उत्पादन प्रवर्द्धनका लागि विगतमा लागू गरिएका नीतिहरू सहजताको नाममा हटाउन नहुने धारणा पनि राखे ।
उनका अनुसार हाल बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, मासिक करिब साढे दुई खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको तथा लगानीयोग्य स्रोत प्रशस्त रहे पनि उत्पादनमुखी नीतिहरू हटाइए भविष्यमा पुनः कार्यान्वयन गर्न कठिन हुन सक्छ ।
उनले अल्पकालीन सहजतालाई आधार बनाएर नीतिगत व्यवस्था परिवर्तन गर्नु उचित नहुने उल्लेख गर्दै दीर्घकालीन आर्थिक सुधार, उत्पादन वृद्धि र लगानी प्रवर्द्धनलाई केन्द्रमा राखेर आगामी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया