कम्युनिष्ट विचारधाराको प्रभाव विश्वभर बढिरहेको छ : माधव नेपाल

लोकपथ
14
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी विचारधाराको प्रभाव क्रमशः बढ्दै गएको दाबी गरेका छन् । उनले चीन विश्व राजनीतिको केन्द्रबिन्दुका रूपमा उदाइरहेको पनि बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका प्रदेश समिति एकता तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संयुक्त राज्य अमेरिकादेखि युरोपसम्म कम्युनिष्ट गतिविधि विस्तार भइरहेको उल्लेख गरे ।

साथै, ल्याटिन अमेरिकी मुलुकहरूमा वामपन्थी नेतृत्वले चुनाव जितेर सरकार गठन गरेको र अफ्रिकी देशहरूमा समेत वामपन्थी प्रभाव बढिरहेको उनको भनाइ थियो ।

माधव नेपालले अन्तर्राष्ट्रिय राजनीतिमा चुनौतीहरू कायम रहे पनि विश्व शक्ति सन्तुलन परिवर्तनको क्रममा रहेको दाबी गरे । इरानसँगको सम्बन्ध, पाकिस्तान र चीनसँगको सहकार्यको प्रसंग उल्लेख गर्दै उनले चीनको बढ्दो प्रभाव विश्व राजनीतिमा स्पष्ट देखिएको बताए ।

उनले चीन र भियतनामजस्ता कम्युनिष्ट देशका सफल अभ्यासबाट मात्र नभई गैर–वामपन्थी शक्तिहरूले गरेका सकारात्मक कामबाट समेत सिक्नुपर्ने धारणा राखे। विरोधी पक्षका राम्रा अभ्यास अपनाएर आफूलाई अझ सक्षम र उत्कृष्ट बनाउनुपर्ने उनको भनाइ थियो ।

सहसंयोजक नेपालले पार्टी कार्यकर्तालाई संगठन विस्तार र जनसम्पर्कमा सक्रिय हुन निर्देशन दिँदै राजधानीमा कार्यक्षेत्र भए पनि आफ्ना गृहजिल्ला र स्थानीय तहसँग निरन्तर सम्पर्कमा रहन आग्रह गरे । उनले फोन, सामाजिक सञ्जाल तथा व्यक्तिगत सम्बन्धमार्फत पार्टीको नीति, विचार र कार्यक्रम जनतासम्म पुर्‍याउन तथा विदेशमा रहेका नेपालीमाझ पनि पार्टीप्रति विश्वास र आशा जगाउन कार्यकर्तालाई आह्वान गरे ।

उनले काठमाडौंमा जिम्मेवारी सम्हालिरहेका नेता–कार्यकर्ताले राजधानीको संगठन सुदृढ बनाउनुका साथै आफ्ना गृहजिल्लामा पनि पार्टी गतिविधिलाई सक्रिय बनाउन दोहोरो भूमिका निर्वाह गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?