भारतले स्वदेशी तेल-ग्यास अन्वेषण तीव्र बनाउने, १० अर्ब डलर लगानी गर्ने

लोकपथ
70
Shares

काठमाडौं । मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा परेको असरपछि भारतले स्वदेशी कच्चा तेल तथा प्राकृतिक ग्यासको अन्वेषण र उत्पादन विस्तारलाई तीव्र बनाउने भएको छ । भारतले ऊर्जा सुरक्षालाई बलियो बनाउन करिब १० अर्ब अमेरिकी डलर लगानीसहित नयाँ अन्वेषण कार्यक्रम अघि बढाएको हो ।

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हर्दिपसिंह पुरीले ऊर्जा सङ्कटले स्वदेशी स्रोतको विकासलाई उच्च प्राथमिकतामा राख्न प्रेरित गरेको बताएका छन् ।

विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता तथा दोस्रो ठूलो एलपीजी आयातकर्ता भारतले अमेरिका–इरान तनावका क्रममा स्ट्रेट अफ होर्मुजमा आएको अवरोधका कारण ऊर्जा आपूर्तिमा चुनौती सामना गरेको थियो । युद्धविरामपछि खाडी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः सहज बन्दै गएको र अन्तर्राष्ट्रिय बजारमा मूल्य पनि स्थिर हुन थालेको छ ।

मन्त्री पुरीका अनुसार भारतले हालसम्म अन्वेषण नगरिएका करिब दुई लाख ५० हजार वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । साथै, दीर्घकालीन रूपमा करिब १० लाख वर्ग किलोमिटर क्षेत्रको सम्भाव्यता अध्ययन पनि अघि बढाइनेछ ।

भारतको तेल मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२५र२६ मा देशको स्वदेशी कच्चा तेल उत्पादन दुई करोड ५९ लाख ८० हजार मेट्रिकटन पुगेको थियो। यो उत्पादनले भारतको कुल कच्चा तेल आवश्यकताको करिब १० प्रतिशत मात्र पूर्ति गर्छ ।

ऊर्जा आपूर्तिलाई विविधिकरण गर्ने रणनीतिअनुसार भारतले कच्चा तेल आयात गर्ने देशको संख्या २७ बाट बढाएर ४१ पुर्‍याएको छ । यस क्रममा इरान, भेनेजुएला, रुस तथा विभिन्न अफ्रिकी मुलुकबाट आयात बढाइएको छ ।

रुसी तेल खरिदलाई लिएर अमेरिका र युरोपबाट आलोचना भइरहे पनि मन्त्री पुरीले भारतले वैचारिक दृष्टिकोणभन्दा आफ्नो ऊर्जा सुरक्षालाई प्राथमिकता दिएको स्पष्ट पारे ।

हाल भारतको स्वदेशी तेल उत्पादन मुख्यतः राजस्थान, गुजरात, आसाम तथा मुम्बईको अपतटीय क्षेत्रमा केन्द्रित छ । उनले अन्डमान तथा निकोबार द्वीपसमूह आसपासको गहिरो समुद्री क्षेत्रलाई ऊर्जा सम्भावनाले भरिएको क्षेत्रका रूपमा उल्लेख गर्दै त्यहाँ अन्वेषणलाई तीव्र बनाइने बताए ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२५ मा ‘समुद्र मन्थन’ अभियान घोषणा गर्दै समुद्रमुनिको तेल तथा ग्यास भण्डारको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राखेका थिए ।

भारतले सन् २०७० सम्म कार्बन तटस्थता हासिल गर्ने लक्ष्य लिएको भए पनि तीव्र आर्थिक वृद्धि र बढ्दो ऊर्जा मागका कारण तेलको खपत निरन्तर बढिरहेको छ। भारतले नवीकरणीय ऊर्जा, आणविक ऊर्जा तथा इथेनोल मिश्रित इन्धनको प्रयोग विस्तार गर्दै ऊर्जा स्रोतको विविधिकरणमा पनि लगानी बढाइरहेको छ ।

मन्त्री पुरीका अनुसार भारतको दैनिक तेल खपत सन् २०२१ मा ५० लाख ब्यारेलबाट बढेर हाल करिब ५६ लाख ब्यारेल पुगेको छ भने निकट भविष्यमै यो दैनिक ६० लाख ब्यारेल पुग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?