साइबर कानूनको बहानामा पत्रकारलाई त्रसित पार्ने सरकारको मनसाय छैन : सञ्चारमन्त्री तिमिल्सिना

लोकपथ
21
Shares

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानून वा अन्य कुनै कानूनको बहानामा त्रसित पार्ने सरकारको कुनै मनसाय नरहेको स्पष्ट पारेका छन् ।

नेपाल पत्रकार महासंघद्वारा आइतबार ललितपुरमा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले सरकारले साइबरसम्बन्धी विषयमा हस्तक्षेप गर्नुपर्ने अवस्था नै सिर्जना नहोस् भन्ने चाहना रहेको उल्लेख गर्दै सञ्चारमाध्यमलाई थप जिम्मेवार र व्यवस्थित ढंगले सञ्चालन गर्न आग्रह गरे ।

मन्त्री तिमिल्सिनाले आफूले सञ्चारमाध्यम बन्द नगरेको भन्दै आलोचना खेप्नुपरेको अनुभव सुनाउँदै सञ्चार क्षेत्रका सबै सरोकारवालाले जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिए सरकारलाई पनि काम गर्न सहज हुने बताए ।

उनले पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेप गरिए त्यसको परिणाम सहज नहुने विषयमा सरकार जानकार रहेको स्पष्ट पार्दै पत्रकारितामाथि दबाब सिर्जना गर्ने कुनै सोच, नीति वा उद्देश्य सरकारको नरहेको दोहोर्‍याए ।

उनका अनुसार सरकार सञ्चार क्षेत्रलाई बलियो, स्वच्छ, सशक्त र जिम्मेवार बनाउन सधैँ तयार छ । तर गैरकानूनी माग वा विषय लिएर सञ्चार मन्त्रालयमा नआउन उनले आग्रह गर्दै त्यस्ता माग स्वीकार्य नहुने स्पष्ट पारे ।

मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रको हित, संरक्षण र उन्नयनका लागि सरकार प्रतिबद्ध रहेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?