काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले नेपालमा कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन् ।
आइतबार नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै उनले सरकार प्रेस स्वतन्त्रता संकुचन गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।
मन्त्री तिमिल्सिनाले लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता भएको उल्लेख गर्दै सरकारले यसको महत्व राम्रोसँग बुझेको बताए । प्रेस स्वतन्त्रता संवैधानिक अधिकार भएकाले त्यसको हनन हुन नसक्ने उनको भनाइ थियो ।
उनले सरकारले संवैधानिक हक अधिकार कार्यान्वयनमा बाधा पुर्याएको ठानिए देशभित्र त्यसको समाधानका लागि पर्याप्त संवैधानिक तथा कानुनी व्यवस्था रहेको बताए । सञ्चारसम्बन्धी कुनै विषयमा असहमति वा अन्योल भए सरकार पत्रकारसँग संवाद र छलफल गर्न सधैँ तयार रहेको पनि उनले बताए ।
मन्त्री तिमिल्सिनाले कतिपय विषय व्याख्या र ‘न्यारेटिभ’ का कारण फरक ढंगले बुझिन सक्ने उल्लेख गर्दै प्रेस स्वतन्त्रतासँग सम्बन्धित विवादित विषयहरू संवादमार्फत समाधान गर्न सकिने धारणा राखे ।
उनले अहिलेको मुख्य प्रश्न प्रेस स्वतन्त्रता हुने वा नहुने नभई सरकार कति जिम्मेवार छ भन्ने भएको बताए। सरकार जिम्मेवार हुनैपर्ने उल्लेख गर्दै यदि सरकार कतै गैरजिम्मेवार बने त्यसबारे प्रश्न उठाउनु पत्रकारको सबैभन्दा ठूलो दायित्व भएको उनले जिकिर गरे ।
उनका अनुसार सरकार जिम्मेवार बनाउन सञ्चारमाध्यम र पत्रकारको भूमिका लोकतन्त्रका लागि अपरिहार्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया