काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रमा देखिएको राजनीतिकरण र दलीयकरण नै सुधारको प्रमुख बाधक बनेको बताए ।
थापाले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक नियुक्तिसम्म दलगत आधारमा हुने प्रवृत्तिले मुलुकको शिक्षा प्रणाली कमजोर बन्दै गएको उल्लेख गरे । शिक्षा आफैँ राजनीतिक मुद्दा भए पनि त्यसलाई दलीय स्वार्थको माध्यम बनाउनु गलत भएको उनको भनाइ थियो ।
उनले विद्यालय व्यवस्थापन समिति, शिक्षक र प्रधानाध्यापक आफ्नै दलका व्यक्ति हुनुपर्ने सोच त्याग्नुपर्नेमा जोड दिए । शिक्षा क्षेत्रमा भएको दलीयकरणले सबैभन्दा ठूलो क्षति पुगेको भन्दै यसबाट शिक्षा क्षेत्रलाई मुक्त गर्नुपर्ने आवश्यकता औँल्याए ।
थापाले समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले खेल्नुपर्ने भूमिका र योगदानबारे राजनीतिक तहमा गम्भीर बहस हुनुपर्ने पनि बताए ।
त्यस्तै, सरकारले हतारमा परीक्षा नतिजा सार्वजनिक गर्ने प्रवृत्तिका कारण हजारौँ विद्यार्थी समस्यामा परेको उल्लेख गर्दै उनले कक्षा १० र १२ को परीक्षाफलमा देखिएका समस्याबारे संसदमार्फत सरकारको ध्यानाकर्षण गराउने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया