काठमाडौं विश्वविद्यालयको दीक्षान्तमा शिक्षामन्त्री : ‘नेपालमै गुणस्तरीय शिक्षा र पर्याप्त अवसर सिर्जना गछौँ’

लोकपथ
0
Shares

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री पोखरेलले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताए ।

उनले सरकारले युवाले कल्पना गरेको समुन्नत समाज निर्माणका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै त्यस अभियानमा शिक्षित युवाको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे ।

मन्त्री पोखरेलले काठमाडौं विश्वविद्यालयले हालसम्म विभिन्न विधामा ५१ हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको उल्लेख गर्दै उनीहरूले आफ्नो ज्ञान, सीप र अनुभव नेपालमै उपयोग गरी राष्ट्र निर्माणमा योगदान दिनुपर्ने अपेक्षा व्यक्त गरे ।

विद्यार्थीलाई विदेशतर्फ आकर्षित नहुन आग्रह गर्दै उनले नेपालमै अवसर उपलब्ध गराउने र थप अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए। ूतपाईंहरू निराश नहुनुस्, नेपालमै अवसर पाइन्छ र हामी थप अवसर सिर्जना गर्नेछौँ,‘उनले भने ।

समारोहमा मन्त्री पोखरेलले विभिन्न विधामा उपाधि हासिल गरेका विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा ऋषिकेश वाग्लेले कृत्रिम बुद्धिमत्ता (एआई) र अटोमेशनको तीव्र विकाससँगै प्राविधिक दक्षतासँगै विवेक, नैतिकता, सांस्कृतिक चेतना र राष्ट्रप्रतिको जिम्मेवारीलाई समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी, भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एण्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्राडा भूपेन्द्र पाटवर्धनले नेपाल भारतबीच शिक्षा, अनुसन्धान तथा परम्परागत ज्ञानको आदानप्रदानलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै विश्वविद्यालयबाट प्राप्त शिक्षालाई समाजको हितमा प्रयोग गर्न स्नातक विद्यार्थीलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?